काठमाडौ : राष्ट्रिय गौरवको बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको बिषयमा स्वेतपत्र जारी हुने भएको छ । आज दिउँसो ३ बजे खानेपानी मन्त्रालयको सभाहलमा स्वेतपत्र जारी गर्ने कार्यक्रम तय भएको छ । स्वेत पत्रमा मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था, विगतको समीक्षा र आगामी योजना समेत स्वेत पत्रमा समेटिएको छ । सरकार परिवर्तन हुँदै पिच्छे काठमाडौमा मेलम्ची ल्याउने मिति तोकेपनि अहिलेसम्म मेलम्ची कहिले ल्याई पुर्याउने हो यसै भन्न सक्ने अवस्था छैन ।
पछिल्लो जानकारी अनुसार मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स र सुरुङमार्ग फिनिसिङको काम सकिनै लागेको छ ।
इटालियन कम्पनी सिएमसीले ठेक्का तोडेपछि मेलम्चीको बाँकी काम गर्न सुरु गरेको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले हाल हेडवर्क्सको काम अन्तर्गत पानी सुरुङमार्गमा ल्याउन बाँध बाँध्ने काम गरिरहेको छ । अब कम्पनीले केही दिनमा वासआउट र आउटलेट पाइपको परीक्षण गर्ने जनाएको छ ।
आयोजनाले यही पुस २८ गते हेडवर्क्सका लागि बनाएको डाईभर्सन टनेलमा पानी हालेर परीक्षण समेत गरिसकेको छ । आगामी असारसम्म टनेलमा पानी हालेर सुन्दरीजल खसाएर परिक्षण गर्ने आयोजनाको योजना छ ।
यस्तै मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी काठमाडौ ल्याउने समेत बाटो खुलेको छ । प्रभावित क्षेत्रका बासिन्दाको मागका सम्बन्धमा संघीय सांसद शेर बहादुर तामाङ र सामाजिक विकास विज्ञ शम्भु प्रसाद कट्टेलको रोहबरमा समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्री र पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा बीच सहमति पत्रमा हस्ताक्षर भएपछि याङ्ग्री र लार्केको पानी काठमाडौ ल्याउने बाटो खुलेको हो । पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौ ल्याईनेछ भने दोस्रो चरण अन्तर्गत याङ्ग्री र लार्केको दैनिक ३४ करोड लिटर पानी काठमाडौ उपत्यकामा ल्याईनेछ ।