हात नधोए सामान किन्नै नपाईने

संखुवासभा : खाँदबारी बजारस्थित बराल किराना पसलबाहिर बाल्टिनमा पानी र छेउमा साबुन राखिएको छ । पसल पुग्ने जोकोही ग्राहकले पहिले साबुन पानीले अनिवार्य हात धुनुपर्छ अनि मात्र सामान खरिद गर्न पाइन्छ । पसल सञ्चालक पोगषराज बरालले टाढाबाट अपरिचित ग्राहकसमेत आउने भएकाले केही दिनयता यस्तो व्यवस्था गरिएको बताए । ‘सामान किन्न आउनेले पहिले हात राम्ररी नधोएसम्म पैसा लिन्नँ, सामान पनि दिन्नँ,’ उनले भने ।

सबै व्यापारीले पसलछेउमा साबुन पानीको व्यवस्था गर्ने हो भने ग्राहक र व्यापारी दुवै कोभिड–१९ को जोखिमबाट सुरक्षित हुने उनले बताए । ‘ग्राहकले हात धुँदा ढुक्क भइँदोरहेछ, आत्मबल बढ्छ,’ उनले भने । खाँदबारीमा करिब तीन दर्जन व्यापारीले पसलअगाडि बरालले जस्तै व्यवस्था मिलाएका छन् । सामान किन्न पुगेकी मेनुका विकले यस्तो व्यवस्थाले ढुक्क भएको बताइन् । ‘बाहिरबाट जाँदा विभिन्न सामान छोइएको हुन्छ, उनले भनिन्, ‘हात धोएर सामान लिँदा ढुक्क लाग्छ ।’

सदरमुकाममा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाले समेत विभिन्न खाले सचेतना अपनाउन थालेका छन् । सेवाग्राही र कर्मचारीलाई हात धोएर, सेनिटाइजर प्रयोग गरेर र मास्क लगाएर मात्र कार्यालयभित्र प्रवेश गराउन थालिएको छ । सेवाग्राहीको चाप बढी हुने भएकाले सजगता अपनाउन यस्ता सामग्री अनिवार्य प्रयोग गर्न लगाइएको नबिल बैंक खाँदबारीका प्रमुख सन्तोष विमलीले बताए । यो खबर कान्तिपुर दैनिकले छापेको छ ।

गाउँपालिकामा पनि स्वास्थ्य स्वयंसेविका मार्फत् कोभिड सचेतना सम्बन्धी प्रचारप्रसार गर्न निर्देशन दिइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताए । जिल्ला अस्पताल खाँदबारीमा भने पाँच शय्याको आइसोलेसन कक्ष तयार गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार