जब ट्रेनबाट ओरालेर तातो पानीले हात धुन लगाए ….


विराटनगर : भारत विहारको अररिया जिल्लाको जोगवनीबाट फारविसगन्जका लागि ट्रेन चढ्ने बित्तिकै ४९ वर्षीय सुरेन्द्र मण्डललाई रेलवे कर्मचारीहरूले ओराले । रेल चढ्ने बित्तिकै ओर्लन लगाएपछि मण्डल एकछिन जिल्ल पर्नुभयो । त्यसपछि रेलवे कर्मचारीले तातो पानी र साबुनले हात धुन लगाए । जरुरी कामले विहार पुगेर शुक्रबार विराटनगर फर्केका मण्डल विराटनगरको जलजला मार्गका होटल सञ्चालक हुनुहुन्छ ।

‘दुबै हातले ट्रेनको ह्यान्डिल समातेको थिएँ, उनीहरूले देखेपछि हात पखाल्न लगाएर सिटमा बसाए,’ मण्डलले भन्नुभयो । ‘त्यहाँ एक समूह भाँडामा तातो पानी सहित तयार भएर बसिरहेका हुन्छन ।’ यात्रु चढ्नुअघि ट्रेनको डिब्बालाई भित्र बाहिरबाट सेनिटाइजरले सफा गरेर मात्र छिर्न दिदोरहेछ’ उहाँले भन्नुभयो । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारणले अहिले सीमा वारिपारि उच्च सतर्कता अपनाईएको छ ।

नेपालीको बढी आवागमन हुने जोगवनीका स्थानीय व्यापारीहरूले पनि आफ्नो र ग्राहकको स्वास्थ्यको ध्यान दिईरहेका छन् । बिहानको दुई घण्टा जत्ति पसलकै सरसफाइमा बितिरहेको नेपाली कपडा व्यवसायी सञ्जय अग्रवालले बताउनुभयो । भारतपट्टि कारोबार भए पनि उहाँ दिनहुँ विराटनगरको तीन टोलियास्थित निवासबाटै मोटरसाइकलमा आउजाउ गर्नुहुन्छ । अहिले पसलको प्रवेशद्वारमै सेनिटाइजरको बोतल राखेर भित्र छिर्ने हरेक ग्राहकलाई छर्कन लगाएको उहाँले बताउनुभयो ।

विराटनगरमा बसोबास गर्दै जोगबनीमा पसल सञ्चालन गर्ने सबैले कोरोना भाइरस विरुद्धको सचेतना अभियानमा स्वतः स्फूर्त लागिरहेका छन् । जोगवनी बजारका धेरै पसल सञ्चालक र कामदार दुबै नेपाली छन् । ९८ प्रतिशत नेपाली र दुई प्रतिशत मात्र भारतीय ग्राहकमा निर्भर यो बजारमा आधाजसो व्यापारी नेपालका पूर्वी क्षेत्रका छन् । व्यवसाय एवं रोजगारीका कारण बिहानदेखि साँझसम्म नेपालीहरू त्यहीं बसे पनि राती भने निजी वा सार्वजनिक सवारीमा वारिपारि रहेको निवासमा फर्कन्छन् ।

जोगवनीका झण्डै ३ सय पसलमा सवा सय जति नेपालीकै भएको अग्रवालले बताउनुभयो । कपडा र सौन्दर्य सामग्रीको व्यापारमा विराटनगर, इटहरी र धरानका व्यापारी अधिक छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार