काठमाडौ : सरकारले आज मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी सोमबार बसेको उच्चस्तरीय समितिको बैठकले आज विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
यो अवधिमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त सवारी साधन मात्र चलाउन पाउनेछन् । अति आवश्यक सेवा बाहेकका कार्यालयका कर्मचारीलाई कार्यालय प्रमुखले बिदा दिन सक्ने व्यवस्था मिलाएपनि खानेपानी र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गर्ने कर्मचारीले भने बिदा नपाउने भएका छन् ।
निर्णयको चौथो बुँदामा भनिएको छ ‘स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने ।’
यस्तै निजी क्षेत्रबाट सञ्चालित खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगका कर्मचारी समेत बिदामा बस्न पाउने छैनन् । कोरोनासम्बन्धीको उच्चस्तरीय समितिको बैठकले औषधी तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
हेर्नुहोस् थप निर्णय के के छन् ?