राउटे बस्तीमा ताल्चा, साबुन पानीले हातधुने व्यवस्था


सुर्खेत : जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायको बस्तीमा कोरोना संक्रमण रोक्नका लागि भेरीगंगा नगरपालिकाले ‘लकडाउन’ गरेको छ। राउटे समुदाय हाल भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोला किनारमा बस्दै आएको छ। ‘संभावित कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र बाह्य समुदायका व्यक्तिलाई राउटे बस्तीमा प्रवेश गर्न नदिने निर्णय गरेको मेयर भुपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बस्ती अनुगमनका लागि इलाका प्रहरी कार्यालय छिन्चुलाई जिम्मेवारी दिएको छ भने नगरपालिकाले राउटे समुदायका मानिसहरुलाई हात धुन सिकाउनका लागि स्वास्थ्यकर्मी पनि खटाएको छ।

‘फिरन्ते जाती भएकाले उनीहरु पालमुनि बस्छन्, शौचालय प्रयोग गर्दैनन् । यस्तोमा शौचालय प्रयोग गर्न र हात धुन सिकाउनु नै हाम्रा लागि चुनौतीपूर्ण छ।’ उपमेयर रेणु आचार्यले भन्नुभयो । उहाँले आजदेखि राउटे बस्तीमा अस्थायी शौचालय समेत बनाउने जानकारी दिनुभयो । राउटे समुदायको बस्ती सरसफाइमा ध्यान दिन, हात धुने बानीको विकास गर्न र बस्तीमा प्रवेश बन्द गर्नका लागि स्वास्थ्यकर्मी र प्रहरी परिचालन गरिएको छ ।

वर्षमा एक पटक मात्रै नुहाउने, खुल्ला ठाउँमा दिसा–पिसाव गर्ने, सरसफाइमा ध्यानै नदिने यो समुदाय कोरोनाको उच्च जोखिममा छ। ‘राउटे समुदायमा कोरोना संक्रमण भए अन्य समुदायमा त्यसको असर तत्कालै फैलिने देखिएको छ । त्यसैले सरसफाइ सँगै बाह्य व्यक्तिहरुलाई बस्ती प्रवेशमा रोक लगाएका छौं।’उहाँले भन्नुभयो ।

नगरपालिकाले एक महिनाका लागि खाद्यान्नको जोहो गरिदिन प्रदेश सरकारलाई अनुरोध गरेको छ। ‘एक महिनाका लागि पुग्ने खाद्यान्न दिए बस्तीबाट बाहिर नजाने राउटे समुदायले बताएका छन्, नगरपालिका एक्लैले सहयोग गर्न नसक्ने भएकाले प्रदेश सरकारसँग खाद्यान्न उपलब्ध गराइदिन अनुरोध गरेका छौं।’ मेयर चन्दले भन्नुभयो । राउटे समुदायमा एक सय ५० जना सदस्य छन्। काठका भाँडावर्तन बनाउने राउटे समुदाय दैनिक गुजाराका लागि व्यक्तिका घर–घरमा पुग्ने गर्छन्। विरामी हुँदा उनीहरु औषधि–उपचार गर्दैनन्।

उपमेयर रेणु आचार्यले बस्तीमा नियमित हात धुनका लागि ट्याङ्की सहित पानीको व्यवस्था गर्नुका साथै प्रत्येक सदस्यहरुलाई साबुन वितरण गरिएको बताउनुभयो । उहाँले राउटे समुदाय खुल्ला ठाउँमा दिसा–पिसाव गर्ने भएकाले त्यसलाई रोक्नु प्रमुख चुनौती रहेको बताउनुभयो । सरकारले २५ जना भन्दा बढी एकै ठाउँमा भेला नहुन निर्देशन दिएको छ। यो समुदायका सबै सदस्यहरु एउटै ठाउँमा भेला भएर बस्छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार