कोरोना भगाउन महानगरद्वारा बृहत सरसफाइ अभियान सुरु

काठमाडौ : महानगरपालिकाले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन महानगर क्षेत्र भित्र बृहत सरसफाइ गर्न थालेको छ । महानगरपालिकाले आजबाट काठमाडौँ महानगपालिका क्षेत्र भित्रका सडक पानीट्याङ्की र ब्रुमरमार्फत सरसफाइ गर्ने कामलाई तिव्रता दिएको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

कोरोना बिरुद्ध ३२ वटै वडामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्दै आएको महानगरपालिकाले सरसफाइको कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । सरकारले चैत्र ११ गतेदेखि एक साताका लागि ‘लकडाउन’ गर्न दिएको निर्देशनको पूर्ण पालना गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइको कामलाई तिव्रता दिएको नगर प्रमुख शाक्यले बताउनुभयो ।

‘लकडाउन’ को समयमा महानगर क्षेत्र भित्र फोहोर थुप्रिने र सडक फोहोर हुने अवस्था आयो भने कोरोना भाइसरको संक्रमण अझ छिटो फैलिन सक्ने भएकाले त्यसको न्युनिकरणका लागि सरसफाइको कामलाई तिव्रता दिएको शाक्यको भनाइ छ । सकेसम्म दैनिक रुपमा उत्पादन हुने र व्यवस्थापन गर्न सकिने फोहोरलाई घर–घरमै व्यवस्थापन गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै नगर प्रमुख शाक्यले बाँकी फोहोरलाई भने ‘लकडाउन’ का समयमा पनि सकेसम्म व्यवस्थापन गर्न महानगपालिका लागि परेको बताउनुभयो ।

महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा पानीट्याङ्कीबाट पानी हालेर र ब्रुमरको प्रयोगबाट सरसफाइको काम निरन्तर रुपमा अघि बढेको महानगरपालिकाले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार