कुपण्डोलमा स्थानीयले नै छर्के ‘डिसइन्फेक्सन स्प्रे’


ललितपुर : ललितपुर महानगरपालिकाको वडा नं. १ का ध्रुव तण्डुकार शुक्रबार काठमाडौं महानगरले औषधि किन्ने ठाउँ त्रिपुरेश्वरमा पुग्नुभयो । उहाँले त्यहाँ व्यक्तिले किनेर डिस्इन्फेक्सन स्प्रे छर्किन मिल्छ कि मिल्दैन भनेर पसलेसँग सोध्नुभयो । पसलेले हुन्छ भनेपछि त्यही विधि पनि सिक्नुभयो र पसलेकै सुझाव अनुसार आजदेखि महानगरपालिकाको विभिन्न क्षेत्रमा डिसइन्फेक्सन स्प्रे गर्न थाल्नुभयो ।

ललितपुर महानगरपालिकाले सार्वजनिक स्थानलाई निसंक्रमण गर्ने कुनै योजना नल्याएपछि कुपण्डोलका बासिन्दा ध्रुव तण्डुकार आफैले डिसइन्फेक्सन स्प्रे छर्किन थाल्नुभएको हो । उहाँ उपभोक्ता अधिकार मञ्च, ललितपुरका अध्यक्ष समेत हुनुहुन्छ । ‘अल्का अस्पताल र काठमाडौं महानगरले पनि त्यहीँबाट औषधि लैजाने गरेका रहेछन् । मैले मेरो कुरा राखेपछि त्यहाँको सरहरूले लैजानुस् भनेर तरिका पनि सिकाइदिनुभयो’ तण्डुकारले भन्न्नुभयो ‘१४ लिटर पानीमा चार एमएल औषधि हाल्ने रहेछ, सोही अनुसार छर्किरहेको छु ।’ कुपण्डोलमा स्थानीयबासिन्दा तातिएपनि ललितपुर महानगरले अहिलेसम्म स्प्रे छर्किन सुरु गरेको छैन ।

कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि ‘डिसइन्फेक्सन स्प्रे’ छर्किन महानगरले वास्ता नगरेपछि कुपण्डोलका स्थानीय आफैँ तातिनु परेको तण्डुकारले बताउनुभयो । तण्डुकारले यस्तो बेलामा सरकारको मुख ताक्नुभन्दा पनि आफैँले केही गर्नुपर्ने भन्दै ट्यांकी बोकेर स्प्रे छर्न निस्किएको बताउनुभयो । ‘आज बिहानभरी गुसिंगाल लगायतका क्षेत्रमा छर्किएँ, ‘पुल्चोकको प्रहरी कार्यालयमा पनि छर्किनु पर्नेछ, साँझ फेरि कुपण्डोलको अन्य क्षेत्रहरुमा छर्किन्छु ।’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार