डोल्पाकी ‘चन्द्रा’ सरसफाइबारे सचेतना फैलाउन नर्स लिएर घरदैलो गर्दै

डोल्पा : कोरोना महामारीले विश्व नै आतंकित भईरहेका बेला डोल्पाकी एक युवतीले भने समाजमा सरसफाइबारे जनचेतना फैलाउन नयाँ अभियानको सुरुवात गर्नुभएको छ । त्रिपूरा सुन्दरी नगरपालिका २ मद्धुकी चन्द्रा बुढाले नर्स सँगै घरघरमा पुगेर सरसफाइको महत्वबारे बताउन थाल्नुभएको हो । नर्स सँगै उहाँ बिहानै देखि हरेकको घरमा पुग्नुहुन्छ र सरसफाइबारे सिकाउँनुहुन्छ ।

गएको तिहारमा देउसी भैलो खेलेर संकलन गरेको पाँच हजार रुपैयाँले साबुन किनेर मद्धुका ८५ घरधुरीमा निशुल्क बितरण गर्नुभएको हो । चन्द्रा भन्नुहुन्छ ‘गाउँमा सरसफाइबारे जानकारी छैन, सामान्य साबुनले हात धुने सम्म ज्ञान छैन। गाउँका मानिसमा काम बाहेक केही जानेका छैनन्। स्थानीय सरकारले स्वास्थ्य र सरसफाइका कुनै पनि कुराको सचेतना गराएको छैन। त्यसैले नर्स साथमा लिएर यो अभियानमा जुटेकी हुँ।’

प्रत्येक घरमा आमाबुवा तथा साना बाहिनी भाइलाई साबुन दिँदै उहाँले कोरोना भाइरसबाट कसरी बच्ने भन्नेबारे नर्सलाई बताउन आग्रह गर्नुहुन्छ । चन्द्रा भन्नुहुन्छ ‘म अगुवाइ मात्रै गर्छु आफूसँग स्टाफ नर्स रचना बुढाले विशेष भूमिका खेलिरहनु भएको छ ।’

स्टाफ नर्स रचनाले कोरोना भाइरसबाट बच्न नियमित साबुन पानीले हात धुने, व्यक्तिगत, घरायसी तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने, गोठ व्यवस्थापन गर्नुपर्ने जस्ता बिषयमा छलफल चलाउनुहुन्छ । दिनभरको खाली समय आफूले जानेको र सिकेको कुरा गाउँका नागरिकसँग बाँड्न पाउँदा खुसी लागेको स्टाफ नर्स रचनाले बताउनुभयो । उहाँले स्थानीय सरकारले यो समयमा स्वास्थ्य सेवाबारे कुनै जानकारी नदिँदा दु:ख लागेको बताउनुभयो । जिल्लाका अधिकांश गाउँमा सरसफाइको कमीले मौसमी रुघाखोकी तथा अन्य भाइरलले बर्षेनी मानिसको ज्यान जाने गरेको छ।

हरेक वर्ष लाखौ रकम स्वास्थ्य र सरसफाइका नाममा खर्च हुने भएपनि जनस्तरसम्म यो कुराले कहिल्यै प्राथमिकता पाउन सकेको छैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार