भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले ठोस फोहोरमैलाबाट उत्पादित ३ करोड बढीको मल बिक्री गरेको छ । नगरपालिकासँग सहकार्य गरिरहेको रिकिसी कम्पोष्ट मल प्रालिले उक्त रकम बराबरको मल विक्री गरेको हो । कम्पनीले जापानको टाकजाई विधीबाट मल बनाउँदै आएको कम्पनीका निर्देशक उषा गिरिले जानकारी दिनुभयो ।
यो विधि अनुसार स्थानीयलाई २० लिटर टोकजाई र ३२ लिटरको कम्पोष्ट बाल्टिन वितरण गरिन्छ। बाल्टिनमा कुहिने फोहोरलाई व्यवस्थित रुपमा राखिने र प्रत्येक साताको मंगलबार फोहोर कम्पनीले संकलन गर्छ । ढुटो, भुस, पात र रातो माटोको मिश्रणलाई टोकजाई भनिन्छ ।
पछिल्लो समय स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्न सकस भइरहेका बेला मध्यपुरथिमी नगरपालिकाले फोहोरलाई मोहोरमा बदल्न थालेको हो । वडा नम्बर ४ स्थित विष्णुकुण्डमा रहेको रिकिसी कम्पोष्ट मल प्रालिसँग सहकार्य गरी स्थानीयको घरबाट निस्कने कुहिने फोहोरलाई निःशुल्क संकलन गरी मल बनाउँदै आएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । उहाँले पाइलट प्रोजेक्टको रुपमा काम सुरु गरेको जानकारी दिँदै कम्पनीले वडा नम्बर ४ र ५ का करिब ५ हजार घरधुरीबाट फोहोर संकलन गरी मल बनाउँदै आएको बताउनुभयो । ‘फोहोर निःशुल्क रुपमा संकलन गर्दै आएको छ । सो क्षेत्रका स्थानीयले न त हामीलाई फोहोर कर तिर्नुपर्छ न त कम्पनीलाई नै । बरु सजिलै फोहोरको व्यवस्थापन भएकोमा स्थानीय मख्ख छन्’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।
कम्पनीका निर्देशक उषा गिरिले मललाई भक्तपुरका स्थानीय लगायत तरकारी खेती, कृषि फार्ममा विक्री गर्दै आएको जानकारी दिनुभयो ।