पर्सा : छठ पर्व नजिकिसक्दा पनि सिर्सिया खोलाको पानी अझै नसंग्लिदा स्थानीय आक्रोशित भएका छन् । अघिल्ला वर्षहरूमा छठ सुरु हुनु साता अघिदेखि खोलाको पानी सफा हुन्थ्यो । यसवर्ष भने अहिलेसम्म खोलको पानी संग्लिएको छैन ।
सोमबारबाट यो पर्वको धार्मिक विधि सुर भइसकेको छ । खोलाको पानी सफा नभएपछि छठ व्रतालु चिन्तित बनेका छन् । वीरगन्ज २३ प्रसौनीवीर्ताका युवा अनिशकान्त कुशवाहाले यस वर्ष छठ पर्व संघारमै आइसक्दा पनि सिर्सियाको प्रदूषण नघट्नु चिन्ताको विषय भएको बताए । ‘व्रतालुहरुले यसै खोलाको पानीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यको पूजा अर्चना गर्छन्,’ उनले भने, ‘खोलाको प्रदूषणको स्तर यस्तै रहे व्रतालुले कसरी छठ पूजा गर्ने रु’ पर्सा बारा औद्योगिक करिडोरका उद्योगले यस खोलामा आफ्ना उद्योगबाट निस्कने प्रदूषित अवशेष फाल्न बन्द नगरेकाले यो समस्या विद्यमान रहने उनले बताए ।
सिर्सिया नदी एवं वीरगन्ज प्रदूषण मुक्त अभियानका सचिव वृजेश्वरप्रसाद चौधरीले सिर्सिया खोलाको प्रदूषण हाल २५ देखि ३० प्रतिशतसम्म मात्र घटेकाले खोलाको पानी कालै देखिएको बताए । ‘ खोलाको पानी सफा देखिन करिडोरका उद्योगले एक साथ खोलामा अवशेष फाल्न बन्द गर्नुपर्छ, ’ उनले भने, ‘अघिल्ला वर्षहरुमा साताअघि देखि नै खोलाको पानी क्रमशस् सफा हुँदै जान्थ्यो, यस वर्ष त्यस्तो देखिएन । ’ बारादेखि पर्सासम्म यो खोलामा २ दर्जन बढी स्थानमा छठको घाट निर्माण गरिन्छ । २ वर्षअघि छठ पर्वको समयमा सिर्सिया खोला प्रदूषण गरेको भन्दै एक छाला उद्योगका व्यवस्थापक तथा प्रबन्धक गरी २ जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो ।
चार दशकयता अत्यधिक प्रदूषित बनेको सिर्सिया खोलामा अहिले कालो पानी बग्छ । खोलाको पानी मानवीय तथा चौपायाको उपयोगमा आउने लायक पनि छैन । खोलाको पानीबाट सिचाइँ पनि गर्न सकिँदैन । खोलामा धार्मिक परम्परा अनुसार पूजाआजा गर्न र दाह संस्कार गर्न समेत अप्ठेरो भएको छ । बाराको सिमरास्थित रामवनबाट निस्केको खोला करिब ३ किमी पछि प्रदूषित बन्न थाल्छ । वीरगन्ज पुग्दा खोलाको पानी पूर्ण रुपले कालो बनिसक्छ ।
अनुगमन समितिले दिएको प्रतिवेदन कार्यान्वयन भएन
डेढ दशक अघि सिर्सिया खोलाको प्रदूषणको स्रोत पत्ता लगाउन गठित सिर्सिया नदी अनुगमन समितिले आफ्नो प्रतिवेदन तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई बुझाउँदै प्रदूषित बनाउने ४८ स्रोत किटान गरेको थियो । ती स्रोतमध्ये पर्सा बारा औद्योगिक करिडोरका ४६ उद्योग, बाँकी दुईमा वीरगन्ज महानगरपालिकाको कार्यालयले खोलामा फाल्ने गरेको फोहर र वीरगन्ज नगर क्षेत्रमा सञ्चालित अवैध मदिरा भट्टीलाई किटान गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले यस वर्ष छठ पर्वको समयमा खोलालाई प्रदूषण मुक्त बनाउने सम्बन्धमा साताअघि नै बैठक बसी निर्णय भएको बताए । ‘बैठकमा वीरगन्ज उद्योग वाणिज्य संघलाई पनि करिडोरका उद्योगलाई यस अवधिमा खोलामा प्रदूषित पानी फाल्न रोक लगाउन आवश्यक निर्देशन दिन भनिएको थियो,’ उनले भने, ‘डाबर नेपाल लगायतका केही उद्योगले खोलामा प्रदूषित पानी फाल्न पनि बन्द गरेका छन्, आइतबार एक संयुक्त अनुगमन समितिले करिडोरका केही उद्योगको स्थलगत अनुगमन समेत गरेको थियो ।’
केही उद्योगले खोलामा सङ्लो पानी फाल्न थाले पनि बर्ष भरी प्रदुषित रहेको खोलाको पानी पूर्ण सफा हुन थप समय लाग्ने उनले बताए । कान्तिपुर दैनिकबाट साभार गरिएको ।


750 पटक हेरिएको 

