आरुघाटका २० परिवारलाई शौचालय सहितको तीन कोठे घर बनाइदिने

गोरखा : गोरखाको आरुघाट गाउँपालिकाका २० बिपन्न परिवारलाई शौचालय सहितको तीन कोठे घर बनाईदिने भएको छ। गाउँपालिका र गैरसरकारी संस्था सम्भव नेपालले बाढी, पहिरो, भुकम्प जस्ता बिभिन्न प्रकोपमा घर बिहिन भएका २० परिवारलाई घर बनाईदिन लागेको हो । घर निर्माण गर्न गाउँपालिका र सम्भव नेपाल बीच सम्झौता भईसकेको छ ।

‘सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले सम्भव नेपालले बनाउने घर भुकम्प प्रतिरोधी हुने बताउनुभयो । उहाँका अनुसार एउटा घरको लागि १४ लाख २० हजारमा टेण्डर भईसकेको छ । ‘कसको घर बनाउने भन्ने छनौट गाउँपालिकाले गरेको छ।’ अध्यक्ष खत्रीले भन्नुभयो । संस्थाले लाभग्राही सँग पनि सम्झौता गरेको कार्यक्रम ब्यवस्थापक उत्तम अधिकारीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाल र संभव नेपालका अध्यक्ष प्रेम खत्रीले संयुक्त रुपमा नयाँ बन्ने घरको शुक्रवार शिलान्यास गर्नुभएको छ । सिलान्यासपछि गाउँपालिका अध्यक्ष दाहालले प्रकोप पिडित परिवारको पहिचान गरेर घर निर्माणको सिफारिस गरिएको बताउनुभयो। परियोजना नै २० परिवारको घर बनाउने भएकाले धेरैलाई समेट्न नसकिएको र टड्कारो घर आवश्यक परेकालाई पहिलो प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

घर तीनवटा कोठा र शौचालय सहितको बन्नेछ। इन्टरलक ब्रिक प्रयोग गरेर घर बनाईने हुँदा भुकम्प प्रतिरोधी हुने इन्जिनियर मुकेश अधिकारीले बताउनुभयो। एक वर्ष भित्र सबै घर तयार हुने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार