खानेपानी सचिवले नै खुला दिसा गरेको देखेपछि ……

काठमाडौ : विश्व शौचालय दिवसको अवसरमा काठमाडौमा एउटा गोष्ठी भईरहेको थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको भएपनि उहाँ काठमाडौ बाहिर रहनु भएका कारण गोष्ठीमा भौतिक रुपमा उपस्थित हुन सक्नु भएको थिएन । यद्यपि उहाँले जुमको माध्यमबाट गोष्ठीमा सहभागिता जनाउनुभएको थियो ।

कार्यक्रममा भौतिक रुपमा आउन असम्भव भएका खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत संघसंस्थाका थुप्रै जनाले अनलाइन मार्फत पनि सहभागिता जनाएका थिए । जहाँ बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनका डिपुटी डाइरेक्टर रोशन राज श्रेष्ठ लगायत देश विदेशका धेरै सरोकारवालाहरु जुममा जोडिनु भएको थियो ।
युनिसेफ नेपाल, वाटर एड, पोखरा वास र इन्टरनेसनल वाटर म्यानेज्मेन्ट इन्स्टिच्युटको सहयोगमा खानेपानी मन्त्रालय र स्मार्ट वास सोलुसन्सले आयोजना गरेको गोष्ठीको अध्यक्षता गर्नुभएको थियो, खानेपानी सचिव प्रमिलादेवी शाक्य (बज्राचार्य) ले ।


पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेपछि स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप शाहले स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेपछि कार्यक्रम सञ्चालिका गिरिजा दाहालले कार्यक्रमको अध्यक्षता गरिरहनु भएका खानेपानी सचिव प्रमिलादेवी शाक्य (बज्राचार्य) लाई मन्तव्यका लागि बोलाउनुभयो । कार्य व्यस्तताका कारण कार्यक्रम अवधिभरि बस्ने समय नभएकाले उहाँलाई सुरुमै बोलाउनु भएको रहेछ ।

विश्वको सरसफाइको आँकडा प्रस्तुत गरेपछि उहाँले खुला दिसामुक्त अवस्थाको प्रसंग निकाल्नुभयो । भएको के रहेछ भने विश्व शौचालय दिवसकै अवसरमा २ दिन अगाडि मात्र स्वयम्भुको स्मार्ट शौचालयको अनुगमन गर्न जानु भएको रहेछ । तर शौचालयको अनुगमन गर्न गएको टोलीले खुला ठाउँमा दिसा गरेको पनि भेट्नु भएछ । सचिव शाक्य सँगै अनुगमन टोलीमा खानेपानी मन्त्रालयका सहसचिव सुनिल कुमार दास, सिनियर डिभिज्नल इन्जिनियर योगेन्द्र चित्रकार, वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल लगायत पनि सहभागी हुनुहुँदो रहेछ ।


सचिव शाक्यले मन्चमा आसन ग्रहण गरिरहेका १५ नं. वडाका अध्यक्ष ईश्वरमान डंगोल तिर देखाउँदै त्यो दिनको बेलिबिस्तार लगाउन थाल्नुभयो । ‘यो वर्ल्ड टोइलेट डे कै अवसरमा मैले २ दिन अगाडि पब्लिक टोइलेट हेर्ने मौका पाएको थिएँ । १५ नं. वडाको, हाम्रो वडा अध्यक्ष पनि डायसमा हुनुहुन्छ ।’

उहाँले प्रमाणको रुपमा वडाध्यक्ष डंगोल तर्फ देखाउँदै शौचालय अनुगमन गरेर बाहिर निस्किदा पार्किङ एरियामा खुला दिसा गरेको प्रमाण भेटेको बताउनुभयो । ‘अब सहरी एरियामा अहिले यस्तो अवस्था देखिरहेका छौं भने ग्रामीण एरियामा त हाम्रा लागि निक्कै ठूलो चुनौती छ जस्तो मलाई लागेको छ ।’ उहाँले भन्नुभयो । सचिव शाक्यले यसको लागि जनचेतना अभिवृद्धि गर्न छुटाउन नहुने र निरन्तर गरिरहनुपर्ने बताउनुभयो । राजधानी जस्तो ठाउँमा समेत खुला रुपमा दिसा गरेको देख्नुपर्दा केही लज्जा बोध गर्दै उहाँले भन्नुभयो ‘अब हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने बिषयमा गहन छलफल गर्न जरुरी भएको छ ।’

उहाँले स्वयम्भुमा एरोसानले निर्माण गरेको स्मार्ट शौचालयमा कोभिडलाई समेत लक्षित गरेर सकेसम्मका सबै सुविधाहरु राखेको पाईएको बताउनुभयो । ‘ह्याण्ड वासिङ देखि लिएर फ्लसिङ सबै अटोमेटिक हुने रहेछ, शौचालयबाट निस्किने वेष्ट प्रडक्टलाई ट्रिटमेन्ट गरेर पुनः प्रयोग गरेको देखें, यो एकदम राम्रो उदाहरण हो ।’ उहाँले भन्नुभयो ।

सो दृश्यले सरसफाइमा सार्वजनिक शौचालयको अझ बढी महत्व भएको महसुस भएरै होला उहाँले सोही मञ्चबाट सरसफाइको क्षेत्रमा थप लगानी बढाउन दातृ निकाय तथा विकास साझेदारहरुलाई आग्रह समेत गर्नुभयो । ‘सरसफाइमा एक डलर लगानी गर्दा ५ डलरको आउटकम आउँछ भने किन इन्भेष्ट नगर्ने त ?’ सचिव शाक्यले भन्नु भएको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार