चन्दननाथले सञ्चालनमा ल्यायो ८५ लाखको सुलभ सार्वजनिक शौचालय

जुम्ला : जुम्लाको सदरमुकाम खलंगामा ८५ लाख लगानीमा सुविधायुक्त स्मार्ट सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । हालसम्म पनि सार्वजानिक शौचालय नभएको जुम्ला सदरमुकाममा चन्दननाथ नगरपालिका र एसएनभी नेपालको आर्थिक सहयोग एवं फोरएस जुम्लाको प्राविधिक सहयोगमा स्मार्ट शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको हो । शौचालय निर्माण भएपछि शौच गर्नकै लागि खोला किनार दोडिनु पर्ने बाध्यता हटेको छ । शौचालय अभावमा यसअघि सदरमुकाम पुग्ने जो कोही पनि दिसापिसाब गर्न बजारका कुना, खोला किनार खोजेर हिड्नुपर्ने बाध्यता थियो । जथाभावी शौच गर्दा जुम्ला बजार दुर्गन्धित बन्दै गएको थियो ।

नगरवासीका लागि मात्र नभई सदरमुकाम आउने आम नागरिकको लागि चन्दननाथ ५ कालेखोलीमा स्मार्ट शौचालय निर्माण गरिएको मेयर कान्तिका सेजुवालले बताउनुभयो । शौचालय निर्माण भएपछि बजार क्षेत्र सफा पनि हुने र स्थानीयले राहत पनि पाउने उहाँको अपेक्षा छ । शौचालयको दिगो व्यवस्थापन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसअघि उद्योग वाणिज्य संघ नजिक निर्माण भएको सार्वजानिक शौचालय १÷२ वर्षमै प्रयोग विहिन भएको र अब त्यसो हुन नहुने बताउँदै ५ नम्बर वडाध्यक्ष अर्जुनसिंह कठायतले सबै मिलेर संरचनाको प्रयोग र सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । नभए राज्यको लगानी डुब्छ । नागरिक सेवा पाउँदैनन् । उहाँले भन्नुभयो ।

शौचालय नहुँदा विशेष गरी सदरमुकाम आउँदा महिलालाई बढी समस्या हुन्छ । उपमेयर अप्सरादेवी महतले महिलाको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि सहितको सुविधायुक्त शौचालय निर्माण गरिएको बताउनुभयो । बजार क्षेत्र दुर्गन्धित भएको व्यापाक गुनासो बढेपछि नगरपालिका, एसएनभी नेपालको ८५ लाख संयुक्त लगानीमा सुविधायुक्त शौचालय निर्माण गरिएको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले बताउनुभयो ।

शौचालय निर्माण गर्नु मात्र ठुलो कुरा नभएकाले यसको व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने प्रमुख प्रशासकीय बुढ्थापाले बताउनुभयो । उहाँले नगरपालिका क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्ने योजना रहेको समेत जानकारी गराउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार