अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न वीरगञ्जमा बन्यो हस्पिटल वेस्ट म्यानेज्मेन्ट सेन्टर

वीरगञ्ज : महानगरपालिकाले अस्पतालबाट निस्कने जोखिमपूर्ण फोहोरको उचित व्यवस्थापन गर्ने भएको छ । अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका १६ नगवामा निर्मित ग्रीन हस्पिटल वेस्ट म्यानेज्मेन्ट सेन्टरको आज वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले उदघाटन गर्नुभयो ।

ग्रीन हस्पिटल वेस्ट म्यानेज्मेन्ट सेन्टरको सञ्चालन सँगै अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन हुने आशा पलाएको स्थानीयबासिन्दाले बताएका छन् । ६ करोड २२ लाख रुपियाँको लागतमा वीरगञ्ज महानगरपालिकाले अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापनका उक्त म्यानेज्मेन्ट सेन्टरको निर्माण गरेको नगरप्रमुख विजयकुमार सरावगीले बताउनुभयो । उहाँले अब अस्पतालजन्य फोहोरको बर्गीकरण गरी व्यवस्थापन गरिने बताउनुभयो ।

“नगरवासीमा अस्पताल एबम् स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको सही रुपमा व्यवथापन नहुँदा एक खालको त्रास थियो, दुर्गन्धको पनि समस्या थियो । अब भने त्यो त्रास एवम् समस्या हटनेछ” नगरप्रमुख सरावगीले भन्नुभयो ।

उदघाट्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यकारी अधिकृत निश्चलराज पाण्डेले अस्पतालका फोहोरलाई सामान्य फोहोर भन्दा छुट्टै तरिकाले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालजन्य फोहोरको सही व्यवस्थापन हुन नसके जनस्वास्थ्यका लागि खतरायुक्त हुने हुँदा यसको बेग्लै रुपमा बर्गीकरण गरी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले म्यानेज्मेन्ट सेन्टरमा अस्पतालजन्य फोहोरको व्यवस्थापन गर्ने तरिकाबारे पनि जानकारी गराउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार