….. अनि ३ करोडको ऋण सम्झौतामा हस्ताक्षर गर्‍यो बड्डीचौर खानेपानीले

काठमाडौ : सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई अहिलेकै उपभोक्ताहरुको खानेपानीको माग धान्न खासै समस्या थिएन । गाउँपालिकाको वडा नं. ५, र ८ का करिब १२ सय घरपरिवारले प्रशोधित पानी पिईरहेकै थिए । ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरिएको खानेपानी पिउन पाएकोमा उपभोक्ताहरु पनि सन्तुष्ट नै थिए ।

तर पनि बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषसँग ३ करोड १८ लाख ७४ हजार ८ सय रुपैयाँ ऋण लिएको छ ।


किन लियो ऋण ? यस्तो छ नालीबेली

२०६४ सालमा सुरु भएको बड्डीचौर खानेपानी आयोजना मार्फत सुरुमा १ सय ६४ सार्वजनिक धारा बनेका थिए । २०६७ सालमा सम्पन्न आयोजनाबाट खानेपानीको माग बढ्दै गएपछि धाराको संख्या थपिदै ४ सय धारा बने ।

त्यसपछि सरकारको एक घर एक धाराको नीतिलाई बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पनि अबलम्बन गर्न थाल्यो । उपभोक्ता संस्थाका अध्यक्ष अर्जुन कुमार बुचा मगरका अनुसार अहिले बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका करिब १२ सय घरपरिवार उपभोक्ता छन् ।

बराहताल गाउँपालिकाको वडा नं. ५ को अमलाखाली, आम्पानी, रक्सेनी र चेपाङ लगायत बस्तीमा मात्र ७५० घरपरिवार उपभोक्ता छन् । यस्तै वसन्तपुर, बुर्ती लगायत बस्तीका करिब सवा दुईसय भन्दा बढी घरले पनि बड्डीचौर खानेपानी संस्थाकै पानी उपभोग गर्छन् भने पिङआले, घुम्ती र नयाँबन लगायत बस्तीमा पनि करिब २ सय घरपरिवार उपभोक्ता छन् ।


सरकारी निकाय छाडेर जब गाउँलेले उपभोक्ता संस्थामा माग बुझाए

छिमेकीले सुरक्षित पानी पिउने तर आफूहरुले डेढ घण्टा धाएर खोलाको धमिलो पानी पिउनुपर्ने भएपछि अमलाखाली, आम्पानी र रक्सेनी लगायत गाउँकै मानिसहरुले बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था समक्ष खानेपानीको माग गर्न थाले । उपभोक्ता समितिका अध्यक्ष मगर भन्नुहुन्छ ‘खानेपानीको माग गर्न त गाउँपालिका, खानेपानी डिभिजन कार्यालय जानुपर्नेमा उहाँहरु हामी कहाँ आउनुभयो । यो देखेर म पनि सुरुमा त आश्चर्य चकित नै भएँ ।’

आफूहरुको तर्फबाट सम्बन्धित कार्यालयमा जान सल्लाह दिँदा समेत गाउँपालिका कार्यालय, खानेपानी डिभिजन कार्यालय तथा नेताहरु कसैले पनि आफूहरुको मागको सुनुवाई नभएको बताएको अध्यक्ष मगरले सुनाउनुभयो । उहाँका अनुसार चेपाङ र रक्सेनी गाउँका केही नागरिक अहिले पनि भेरी र सोदखोलाको धमिलो पानी पिउन बाध्य छन् ।


खानेपानीको अत्याधिक माग बढेपछि बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एउटा राम्रो जुक्ति निकाल्यो । ‘खानेपानीको स्रोत थप्ने र खानेपानी सेवा विस्तार गर्ने ।’ यसका लागि खानेपानी उपभोक्ता समिति, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेत र नगर विकास कोष बीच त्रिपक्षीय लगानीमा खानेपानी आयोजना निर्माण बारे विभिन्न चरणको छलफल समेत भयो । उपभोक्ता संस्थाका अध्यक्ष मगर सोही योजना बमोजिम नगर विकास कोषसँग ऋण सम्झौता गर्ने चरणसम्म आईपुगेको बताउनुहुन्छ । ‘हामीलाई उपभोक्ताले यत्ति धेरै विश्वास गरेका छन् भने ऋणै लिएर पनि किन खानेपानी सेवा विस्तार नगर्ने त भन्ने निष्कर्षमा पुग्यौं र ऋण सम्झौतामा हस्ताक्षर गर्‍यौं ।’ अध्यक्ष मगरले भन्नुभयो ।


बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र नगर विकास कोष बीच बिहीबार ३ करोड १८ लाख ७४ हजार ८ सय रुपैयाँको ऋण सम्झौता भएको छ । सम्झौता पत्रमा बड्डीचौर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको तर्फबाट अध्यक्ष अर्जुन कुमार बुचा मगर र नगर विकास कोषको तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटले हस्ताक्षर गर्नुभएको छ ।

बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको कुल १५ करोड ९३ लाख ७४ हजार रुपैयाँ लागत मध्ये ७० प्रतिशत अर्थात ११ करोड १५ लाख ६१ हजार ८ सय रुपैयाँ नेपाल सरकारको अनुदान हुनेछ भने आयोजनाको १० प्रतिशत अर्थात १ करोड ५९ लाख ४ सय रुपैयाँ उपभोक्ताले नगद योगदान गर्नुपर्नेछ ।

नयाँ आयोजनाबाट थप १२ सय बढी घर लाभान्वित हुने

बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाबाट बराहताल गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ का थप १२ सय बढी घरपरिवार लाभान्वित हुने अध्यक्ष मगरले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटा मुहानको पानी संकलन गरी पहिले जस्तै प्रशोधन गरी सुरक्षित पानी वितरण गरिनेछ ।

आयोजना सम्पन्न भएपछि खानेपानी अभावमा काकाकुल जस्तै बनेको चेपाङ, रक्सेनी लगायत गाउँमा वितरण गरिनेछ । ‘अहिले पनि भेरीको पानी पिउनुपर्ने बाध्यताबाट अब मुक्ति मिल्नेछ । हामीले सुरक्षित पानी उपलब्ध गराउने कामको थालनी गरिसक्यौं ।’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार एउटा मुहानबाट प्रति सेकेण्ड साढे १० लिटर, अर्को मुहानबाट प्रति सेकेण्ड तीन लिटर र तेस्रो मुहानबाट प्रति सेकेण्ड ४ लिटरको दरले पानी संकलन हुनेछ । बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको गत असारमै ठेक्का सम्झौता भएको र ठेकेदार कम्पनीले पाइप खरिद लगायत काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार