भक्तपुरमा फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने प्लाण्ट सञ्चालन

भक्तपुर : घरबाट उत्पादन हुने कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० मा कम्पोष्ट प्लान्ट सञ्चालनमा आएको छ । फोहोर व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि क्रियाशील नेप्सेम्याकले स्वच्छ, सफा र सुन्दर वातावरण निर्माणका साथै रोजगारीको सिर्जना गर्ने उद्देश्यले प्लाण्ट सञ्चालनमा ल्याएको हो ।

कम्पोष्ट प्लाण्टको शुक्रबार सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत तथा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।

प्लाण्टको उदघाटन गर्दै उपप्रमुख बस्नेतले विकास निर्माणको साथ साथै फाहोर व्यवस्थापन अपरिहार्य भएको बताउनुभयो । उहाँले स्वस्थ भएर जिउन वरपरको वातावरण पनि स्वच्छ हुनेपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले १० वटै वडाहरुलाई सुन्दर बनाउने अभियान सञ्चालन गरिरहेको नेप्सेम्याकसँग सहकार्य गरी अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।

यस्तै जिल्ला समन्वय उपप्रमुख कुँवरले जिल्लाका चार वटा स्थानीय तहमध्ये तीन वटाले आफै फोहोर व्यवस्थापन गर्न सक्षम बनेको बताउनुभयो । उहाँले प्रादेशिक तथा संघीय सरकारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्दै तीन वटा स्थानीय तहले सफा सहर, सभ्य नागरिक र स्वस्थ समाज निर्माण गर्नमा नेप्सेम्याकको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

२०५४ सालमा स्थापना भएको नेप्सेम्याकले २०६६ सालदेखि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे लगायत जिल्लाहरुमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार