फोहोर फाल्नेलाई सिसिटीभीबाट पहिचान गर्न थाल्यो, चालु आवमा मात्र ५ लाख बढी जरिवाना असुल

काठमाडौ : काठमाडौ महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई सिसिटीभीबाट पहिचान गरी जरिवाना गर्न थालेको छ । रातको समयमा आफ्नो घर तथा होटल रेस्टुरेन्टको फोहोर सडक किनारमा ल्याएर फाल्नेलाई महानगरपालिकाले सिसिटीभी मार्फत पहिचान गरी जरिवाना असुल्न थालेको हो । महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले यो आर्थिक बर्षको सुरुमै सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई सीसीटीभी मार्फत पहिचान गरेर पाँच लाख रुपियाँ बढी जरिवाना संकलन गरिसकेको जानकारी दिनुभयो ।

यसैबीच काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीमा सडक किनारमा फोहोर फाल्दै आएका र स्थानीय बीच कुटपिट भएपछि महानगरपालिकाले रात्रिकालीन अनुगमन गर्न थालेको छ । मैतीदेवीमा सोमबार बिहान फोहोर फाल्नेलाई कुटपिट भएपछि उग्र भएको समूहले फोहोरको डुङ्गुर सडकमै हुत्याएका थिए । प्रहरी प्रभाग मालीगाउँले कुटपिटको घटना प्रहरी कार्यालयमा नआएको जानकारी दिएको छ, बिहान केही समय मैतीदेवी क्षेत्र सामान्य तनावग्रस्त भएको थियो । स्थानीयवासीका अनुसार क्यान्टिन भएका कलेज, छात्रावास र होटलबाट नियतवश स्थानीयको दैलोमा फोहोरको डुङ्गुर नै थुपार्ने र यो खाले फोहोर व्यवस्थापन गर्ने निकायस मेतले नलैजाने गरेकाले एक सातादेखि मैतीदेवी क्षेत्र फोहोरमय भएको थियो ।

फोहोर फाल्नेलाई कुटपिट भएको र भागदौड समेत मच्चिएको स्थानीयवासीले बताए । यसरी फोहोर फाल्ने उपर महानगरपालिकाले जरिवाना गर्न सक्ने तर सजाय प्रभावकारी नभएको जनगुनासो छ ।

महानगरपालिकाले सातामा चार दिन रात्रिकालीन अनुगमन र अन्य दिन माइकिङ गरेर सार्वजनिक स्थालमा फोहोर नफाल्न चेतनामूूलक सन्देश प्रवाह गरिरहेको प्रमुख राईले बताउनुभयो । महानगरपालिकाको नगर रक्षक, जनपथ प्रहरी र फोहोरमैला व्यवस्थापनसँग सरोकार राख्ने स्थानीय युवा क्लब यसमा सहभागी हुँदैछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार