लुभु खानेपानीमा दशक देखि एउटै नेतृत्व, यस्तो छ परिणाम

ललितपुर : ललितपुरको लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था २०६८ सालमा स्थापना हुँदा इन्जिनियर रामबहादुर श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको थियो भने कोषाध्यक्षमा सानुकान्छा श्रेष्ठ । उपभोक्ता संस्था स्थापना भएको १० बर्ष भईसक्दा पनि उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने यो यात्रामा उहाँहरु दुवै जना सँगसँगै हुनुहुन्छ ।

त्यसो त अध्यक्ष र कोषाध्यक्ष मात्र नफेरिएका होइनन् । उपाध्यक्ष बाहेक अन्य पदाधिकारीहरुमा पनि अहिलेसम्म प्रतिस्पर्धी निस्किएका छैनन् । सर्वसम्मतिबाट पदाधिकारी चयन गर्ने अभ्यास अनुरुप हालसम्म चुनाव बिनै पदाधिकारी छान्दै आएको संस्थाका अध्यक्ष ईन्जिनियर रामबहादुर श्रेष्ठले बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष सानुकान्छा श्रेष्ठ जग्गादाता समेत हुनुहुन्छ । उहाँले तीनचलको डिपबोरिङ गर्न संस्थाका लागि १ आना र सबडोलमा समेत सरोज डंगोल र उहाँको नाममा रहेको जग्गा दान गर्नुभएको हो । खानेपानी उपभोक्तालाई कसरी सर्वसुलभ तरिकाले खानेपानी उपलब्ध गराउन सकिन्छ भन्नेमै आफ्नो ध्यान केन्द्रित रहेकाले जग्गा समेत दान गरेको उहाँले बताउनुभयो ।

‘यिनीहरुले खानेपानी वितरणको लागि स्थापनाकालदेखि राम्रो काम गर्दै आएका छन्, संस्थालाई यो स्थानमा पुर्‍याउन ठूलो योगदान दिएका छन् भनेर नै होला ? हामीलाई नै चयन गरेर यी पदहरुमा राखिरहन्छन्’ कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो । लुभु खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर श्रेष्ठका अनुसार पहिले लुभुको परम्परागत वस्तीका लागि पुर्खाहरुले १८ वटा सार्वजनिक इनार तथा ४ वटा ढुंगेधारा बनाएका थिए

तीब्र बसाईसराई तथा जनसंख्याको बृद्धिको चापलाई ती पानीका स्रोतहरुले नधान्ने भएपछि सुरुमा लुभु खोलाको पानीलाई शुद्धिकरण गरी पहिलो चरणमा करिब ८ सय घरपरिवारलाई निजी धारा वितरण गर्ने लक्ष्य राखी २०६८ साल वैशाख ९ गते संस्थाको स्थापना गरिएको थियो ।

लुभु खानेपानीको सेवा १४ सय घरमा

दश बर्ष अघि ८ सय घरपरिवारलाई निजी धारा वितरण गर्ने लक्ष्य लिएर गठन भएको खानेपानी उपभोक्ता संस्थाले अहिले १४ सय ५ घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ भने करिब २ सय धारा जडानका लागि निवेदन प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार खानेपानीलाई विभिन्न चरणमा प्रशोधन गरेर पिउन योग्य बनाएर मात्र वितरण गर्दै आएको छ । प्रशोधित पानीलाई पनि क्लोरिनेसन गरेपछि मात्र वितरण गरिने र पानीको गुणस्तर कस्तो छ भनेर दैनिक आफ्नै ल्याबबाट परिक्षण गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

कोषाध्यक्ष सानुकान्छा श्रेष्ठका अनुसार ५ युनिटसम्मको खानेपानीको १ सय मात्र महसुल निर्धारण गरिएको छ । यस्तै ५ देखि १० युनिटसम्म प्रति युनिट २० रुपैयाँ, १० देखि २० युनिटको प्रति युनिट २५ रुपैयाँ, २० देखि ३० युनिटको प्रति युनिट ३० रुपैयाँ र ३० भन्दा माथि प्रति युनिट ३५ रुपैयाँ निर्धारण गरिएको छ ।

कामलाई सुव्यवस्थित बनाउन उपसमितिहरु क्रियाशील

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यलाई सुव्यवस्थित बनाउन संस्थाले विभिन्न उपसमितिहरु गठन गरेर जिम्मेवारी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बजेट व्यवस्थापन गर्न, स्थानीय टोल सुधारसँग पानी तान्नको लागि समन्वय गर्न र बर्षाको भेलले क्षति भएको पाइप लाइन मर्मत गर्न पनि संस्थाले छुट्टाछुट्टै उपसमिति बनाई जिम्मेवारी प्रदान गरेको छ ।

यस्तै खानेपानी सुधार र निर्माण लागि अनुगमन उपसमिति, बार्षिक प्रतिवेदन तयारी उपसमिति, पदपूर्ति सिफारिस उपसमिति, खानेपानी सुधार र निर्माण उपसमिति, डिपबोरिङ अनुगमन उपसमिति मार्फत काम भईरहेको उहाँले बताउनुभयो ।

पूर्वाधारले सम्पन्न खानेपानी उपभोक्ता संस्था

पूर्वाधार निर्माण गर्ने क्रममा सुरुमा २ लाख लिटर क्षमताको रिजर्भ ट्याङ्क भन्दा अरु संरचना थिएन लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सँग । तर समय अनुसार बृद्धि हुँदै गएको खानेपानी उपभोक्ताको मागलाई धान्न पूर्वाधार निर्माण गर्दै जाने क्रममा अहिले थुप्रै पूर्वाधारहरु निर्माण भएको कोषाध्यक्ष सानुकान्छा श्रेष्ठले बताउनुभयो ।

उहँँका अनुसार सरकारको केन्द्रिय बजेट, महालक्ष्मी नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सहयोगमा हालसम्म ईन्टक २ वटा, सेडिमेन्टेसन ट्याङ्क, ट्यूब सेटलर, स्लोस्याण्ड फिल्टर १/१ वटा, १ लाख ५० हजार लिटर क्षमताको रिजर्भ ट्याङकी, २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की र २/२ लाख लिटर क्षमताको २ वटा रिजर्भ ट्याङ्क निर्माण गरिएको छ । यस्तै सिसिटीभी समेत जडान गरेर व्यवस्थित भवनबाट सेवा सञ्चालन भईरहेको छ ।

छामछुम खोलाको पानी अबको बिकल्प

उपभोक्ता संस्थाले बढ्दो जनसंख्याको चापलाई ध्यानमा राखी दिर्घकालीन योजनाको लागि लाकुरे भन्ज्याङको छामछुम खोलाको पानी ल्याउने सोच बनाएको छ । यसका साथै अल्पकालीन समाधानका लागि पानीको स्रोत बृद्धिका लागि थप डिपबोरिङ गर्ने योजना बनाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

हाल चसिडोल खानेपानीले पानी वितरण गर्दै आएको घाफल क्षेत्र, टाउन प्लानिङका् पूर्वी भाग, मूल बाटोको दायाँबयाँका बस्तीहरुबाट समेत धाराको माग भएकाले ती क्षेत्रमा समेत खानेपानी वितरण गर्ने संस्थाको योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार