पालिकाको वास योजना बनाउन सामुदायिक विकास समाजले सहकार्य गर्ने

 496 पटक हेरिएको

विराटनगर : सामुदायिक विकास समाज विराटनगरले आगामी वर्ष प्रदेशभित्रका स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास योजना) तयार गर्न सहयोग गर्ने नीतिगत प्रस्ताव पारित गरेको छ ।


शुक्रबार विराटनगरमा सम्पन्न २४ औं वार्षिकोत्सव तथा छैठौं साधारण सभाको बन्द सत्रले सो प्रस्ताव पारित गर्दै संस्थाका आगामी वर्षका कार्यक्रम तर्जुमा गर्दा स्थानीय सरकारसँगको साझेदारीमा केन्द्रित हुने नीति लिएको छ, “अबको हाम्रो रणनीतिक कार्यदिशा स्थानीय सरकारसँगको सहकार्य र साझेदारीमा व्यक्तिका संवैधानिक हक सुनिश्चित गर्ने कार्यमा सहजीकरण गर्नु रहन्छ”, संस्थाका अध्यक्ष गंगाप्रसाद यादवको भनाइ छ, “आजको साधारण सभाको म्यान्डेट अनुसार नयाँ कार्य समितिले वार्षिक योजना तयार गरी कार्यान्वयनमा ल्याउनेछ ।”

यसैगरी, साधारण सभाले स्थानीय सरकारको आवधिक योजना तयार गर्नुका साथै व्यवस्थापकीय सूचना प्रणाली स्थापना र सञ्चालनमा समेत सहकार्य गर्ने प्रस्ताव पारित गरेको छ । “हामीले संस्थाभित्र मानव संसाधन व्यवस्थापनदेखि अनुगमन प्रणाली समेत संस्थाको रणनीतिक कार्यदिशा अनुरुप पुनःसंरचना गर्नुपर्ने आवश्यकता छ”, संस्थाका सचिव विपुलेन्द्र झाको भनाइ छ ।

नेपालको संविधानले सुरक्षित खानेपानी तथा सरसफाइलाई मौलिक हकको रुपमा निर्दिष्ट गरेको र यसको क्षेत्रगत अवस्था अझै पनि कमजोर रहेकोले स्थानीय सरकारसँग खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकासका लागि सहकार्य गर्ने विशेष प्रस्ताव पारित गरिएको समेत सचिव झाले बताउनुभयो ।

“संस्थाले यसअघि पनि मोरङ र सुनसरीका विभिन्न स्थानीय तहमा खुला दिसामुक्त तथा पूर्ण सरसफाइ अभियान सहजीकरण गरिसकेको छ”, संस्थाका अध्यक्ष गंगाप्रसाद यादवले भन्नुभयो, “सुनसरीका तीन स्थानीय तहमा वास योजना समेत यसअघि नै तयार गरिसकेको छ । यही ज्ञान र सिकाइलाई प्रदेशका अन्य स्थानीय तहमा समेत विस्तार गरी खानेपानी र सरसफाइको संवैधानिक हक सुनिश्चित गर्ने कार्यमा हाम्रो सार्थक पहलकदमीका लागि यस विशेष प्रस्ताव पारित गरिएको हो ।”

संस्थाको नयाँ कार्यसमिति चयन

साधारण सभाले गंगाप्रसाद यादवको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिका उपाध्यक्ष पार्वती प्रधान, सचिव विपुलेन्द्र झा, कोषाध्यक्ष लक्ष्मी निरौला र सदस्यहरुमा भवनाथ कोइराला, पूजन दाहाल र कमला वस्ती रहनुभएको छ ।

समितिका सल्लाहकारहरुमा शत्रुघनचन्द्र पौडेल, विनोद शर्मा, डा. अनुप यादव, श्यामप्रसाद दाहाल र जुगलकिशोर राठी रहनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई शुक्रबार नै निर्वाचन समिति संयोजक विनोदप्रसाद शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

साधारण सभाबाट निर्वाचित कार्य समितिको पहिलो बैठकले आगामी वर्षलाई सामाजिक रुपान्तरण र स्थानीय विकासको वर्षको रुपमा अघि बढाउने विशेष प्रस्ताव समेत पारित गरेको छ । यसैगरी, कोरोना संक्रमणको तेस्रो लहरबाट नेपाल समेत प्रभावित भएको सन्दर्भमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन र कोभिड प्रतिकार्यमा सहयोग गर्न सम्पूर्ण सदस्य र मातहतका समूहहरुलाई अनुरोध समेत गरेको छ ।

यसका लागि, संस्थाले दिगो विकास लक्ष्यले प्राथमिकतामा राखेका क्षेत्रलाई अघि बढाउनका लागि स्थानीय सरकारसँग प्राविधिक तथा प्रक्रियागत सहजीकरणमा साझेदारी गर्ने संस्थाका अध्यक्ष गंगाप्रसाद यादवले जानकारी दिनुभयो । संस्थाले प्रदेश नं. २ र बागमती प्रदेशमा चालु आर्थिक वर्षमा रणनीतिक साझेदारी विस्तार गर्ने समेत जनाइएको छ ।

सामुदायिक विकास समाज प्रदेश वास क्लस्टर र जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङ र सुनसरीको सदस्य संस्था समेत हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार