वास प्लान तयारीमा लुम्विनी प्रदेशको छलाङ : सबै घरको तथ्यांक संकलन, यसै वर्ष योजना निर्माण गरिसक्ने लक्ष्य

  विनोद धौलागिरि  918 पटक हेरिएको


बुटवल : प्रदेश सरकारको सक्रियता र अगुवाइमा लुम्विनी प्रदेशका सबै पालिकामा यसै वर्ष नै खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास योजना) निर्माण सम्पन्न गरी कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।

प्रदेश सरकारले यस वर्षको वार्षिक योजनामा यसै आर्थिक वर्षभित्र सम्पूर्ण स्थानीय तह (पालिका) को वास योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने विषय समावेश गरेको थियो । सोही योजनालाई कार्यान्वयनमा ल्याउनका लागि विभिन्न सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले समेत सहयोग गरिरहेका छन् ।

खानेपानी, सरसफाइ र स्वच्छतामा देशमै अग्रणी

लुम्विनी प्रदेश खानेपानी, सरसफाइ र स्वच्छताको संस्थागत विकास र राष्ट्रिय सूचना प्रणाली स्थानीयकरणमा देशमै अग्रणी छ । अन्य प्रदेशमा वास योजना तयार गर्नका लागि सत प्रतिशत घरधुरीको तथ्यांक संकलन नगरी नमूना छनौटका आधारमा कम्तिमा १० प्रतिशत घरधुरीको तथ्यांक संकलन गर्ने गरिएकोमा यस प्रदेशमा सबै घरधुरीको तथ्यांक संकलन गरिएको प्रदेश वास क्लस्टर लुम्विनीका सहसंयोजक राकेशकुमार मल्लिकले जानकारी दिनुभयो ।

१२ जिल्ला र १०९ स्थानीय तह रहेको लुम्विनी प्रदेशमा जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार १० लाख ६ हजार ४ सय ३९ घरधुरी रहेकोमा यस स्टोरी तयार पार्दासम्म ९ लाख ३१ हजार २ सय ४४ घरधुरीको तथ्यांक खानेपानी, सरसफाइ तथा स्वच्छताको राष्ट्रिय सूचना प्रणाली अन्तर्गतको एनवास सफ्टवेयरमा प्रविष्ट गरिसकिएको छ भने ७५ हजार १ सय ९५ घरधुरीको मात्र तथ्यांक संकलन गर्न बाँकी रहेको छ । “कोभिडको तेस्रो लहरका कारण पनि घरधुरी, कार्यालय, विद्यालय र खानेपानी आयोजनाहरुको तथ्यांक संकलनमा केही ढिलाइ भयो”, सहसंयोजक मल्लिकको भनाइ छ, “कोभिडको संक्रमण कम भएपछि बाँकी तथ्यांक संकलन कार्यलाई सुचारु बनाइएको छ ।”

योजना र प्रतिवद्धताले दिलाएको सफलता

खानेपानी, सरसफाइ तथा स्वच्छता विषयलाई प्रदेश सरकारको वार्षिक योजनामा निर्दिष्ट रुपमा समावेश गरेर कार्यान्वयनमा ल्याएका कारण अपेक्षित सफलता मिलेको सहसंयोजक मल्लिकको भनाइ छ । “प्रदेश सरकारको नेतृत्वले नै यस कार्यमा दिलचस्पी दिएकोले नै यो सफलता मिलेको हो”, उहाँको भनाइ छ, “पूर्व मुख्यमन्त्रीले सतप्रतिशत घरधुरीको तथ्यांक संकलन गर्न निर्देशन दिएपछि काम झनै तीव्र बन्यो ।”

प्रदेशभित्रका सबै पालिकाको वास योजना निर्माणमा सघाउनका लागि प्रदेश तहमा निर्दिष्ट कार्यक्रम, टोली र योजना छ, जसलाई कार्यान्वयनमा ल्याउनका लागि विकास साझेदार र सहयोगी संस्थाहरुले हातेमालो गरिरहेका छन् । प्रदेशभरी नै क्षमता अभिवृद्धिमा यूनिसेफले सघाएको छ । यसैगरी, केही स्थानीय तहमा यूनिसेफ, गोर्खा वेलफेयर ट्रष्ट र लुमन्तीले प्रत्यक्ष सहयोग पु¥याइरहेका छन् ।

हालसम्म १०९ मध्ये ३२ पालिकाको वास योजना तयार भैसकेको छ । रुकुम पूर्वका तीनवटै स्थानीय तहको योजना तयार भैसकेको छ । अर्घाखाँचीका छत्रदेव र पाणिनी, बाँकेको खजुरा, बर्दियाका बारबर्दिया नगरपालिका, गुरुवा गाउँपालिका, राजपुर नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाले वास योजना तयार गरिसकेका छन् ।

दाङको तुलसिपुर, गुल्मीका मुसिकोट नगरपालिका र धुरकोट गाउँपालिका, कपिलबस्तुका शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाले वास योजना तयार गरिसकेका छन् ।

यसैगरी, नगरपरासी पश्चिमका प्रतापपुर र सुस्ता गाउँपालिकाको वास योजना निर्माण भैसकेको छ । प्युठानका माण्डवी र मालारानी गाउँपालिका, रोल्पाका थवाङ र परिवर्तन गाउँपालिका, रुकुम पूर्वका सबै र रुपन्देहीका लुम्विनी साँस्कृतिक नगरपालिका, गैडहवा, सियारी, मायादेवी, समरीमाइ र मर्चवार गाउँपालिकाको वास योजना समेत तयार भैसकेको छ ।

जिल्लातर्फ, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी पश्चिम, पाल्पा र रुकुम पूर्वका सबै घरधुरीको तथ्यांक संकलन भैसकेको छ ।

खानेपानी आयोजना र संस्थागत खानेपानी सरसफाइको तथ्यांक बाँकी

खानेपानी मन्त्रालयले तीन वर्षअघि प्रकाशन गरेको विस्तृत विवरण अनुसार लुम्विनी प्रदेशमा साना ठूला गरी ६ हजार ४ सय ९७ खानेपानी आयोजना रहेका छन् । त्यसमध्ये सुचारु अवस्थामा १ हहजार ८ सय ३३, सामान्य मर्मत गर्नुपर्ने २ हजार ६ सय ८१, ठूलो मर्मत गर्नुपर्ने ४ सय ६३ पुनःस्थापना गर्नुपर्ने १ हजार ४ र पुनःनिर्माण गर्नुपर्ने ५ सय १६ वटा रहेका छन् ।

यी आयोजनामध्ये १ हजार ४ सय ८१ आयोजनाको विवरण सम्पादनपश्चात् अद्यावधिक गरिसकेको छ भने बाँकी सम्पादनको क्रममा रहेको वास क्लस्टरले जनाएको छ । ट्युब वेलको जानकारी घरायसी खानेपानी तथा सरसफाइसम्बन्धी जानकारीमै अद्यावधिक हुन्छ ।

जिल्लागत रुपमा हेर्दा पहाडी जिल्लाहरुमा साना प्रकृतिका खानेपानी आयोजना समेत सञ्चालन हुने भएकोले संख्या धेरै देखिन्छ । अर्घाखाँचीमा २००, बाँकेमा १८, बर्दियामा २०, दाङमा ७८, गुल्मीमा ३ सय ४१, कपिलवस्तुमा २०, नवलपरासी पश्चिममा १५, पाल्पामा २ सय ४०, प्युठानमा १ सय ५४, रोल्पाका ३ सय २२, रुकुमपूर्वमा १७ र रुपन्देहीका ४५ खानेपानी आयोजनाको विवरण एनवास सूचना प्रणालीमा अद्यावधिक भएको छ ।

तथ्यांकमा एकरुपता र सरकारको पहुँच

लुम्विनी प्रदेशमा यसअघि केही स्थानीय तहको तथ्यांक एमवाटर र कोबोकलेक्टबाट संकलन गरिएको थियो । अहिले वास योजना निर्माणका क्रममा मिल्ने तथ्यांकलाई एमवाटरबाट एनवासमा सारिएको र कोबोकलेक्टबाट तथ्यांक गरिएका स्थानमा पुनः एनवास सफ्टवेयरको प्रयोग गरेर तथ्यांक अद्यावधिक गरिएको छ ।

यसबाट प्रदेशभित्रको खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना प्रणालीमा एकरुपता भएको र सो सूचना सबैको पहुँचमा रहन्छ । सबै तहका सरकारले यस तथ्यांकलाई आवश्यकता अनुसार अद्यावधिक र सम्पादन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसअघिका धेरै सर्वेक्षणहरुमा साझेदार संस्थाले आफ्नो छनौटका एप्लिकेसन वा सफ्टवेयरको प्रयोग गर्ने गरेका कारण सरकारको पूर्ण नियन्त्रण ती तथ्यांकमा थिएन । “एनवासबाट तथ्यांक संकलन गर्दा सबै तथ्यांक सरकारको पहुँचमा रहेको छ भने स्थानीय सरकारदेखि संघीय सरकारसम्मले योजना निर्माण, अनुगमन तथा श्रोत साधन व्यवस्थापनमा ती तथ्यांक प्रयोग गर्न सक्छन्”, प्रदेश वास क्लस्टर सहसंयोजक मल्लिकको भनाइ छ, “सबै स्थानीय तहमा वास इकाइ स्थापना गर्नुका साथै सूचना प्रणालीलाई स्थानीयकरण गर्न समेत यसले सघाएको छ ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार