
सुर्खेत : सुदूरपश्चिम प्रदेशको लागि मर्यादित महिनावारी व्यवस्थापन सदभावना दूतमा नियुक्त गायिका रेखा जोशीले देउडा गीतलाई महिनावारी सचेतना जागरणको माध्यम बनाउने बताउनुभएको छ । देउडा भाकाले सुदुरका मानिसहरुको मन छुने भएकाले आफूले देउडा गीतलाई महिनावारी सचेतना जागरणको माध्यम बनाउने बताउनुभयो ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) नेपालले गायिका जोशीलाई यही फागुन ४ गते महिनावारी सदभावना दूतमा नियुक्त गरेको हो । जोशी सुदूरपश्चिममा लोकप्रिय गायिकाको रुपमा स्थापित हुनुहुन्छ ।
सबै तहका सरकार र बिभिन्न संघ संस्थाहरुले छाउपडी कुसंस्कार अन्त्यका लागि विभिन्न प्रयासहरु गर्दा पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको अवस्थामा आफूले यसका अन्धविश्वास हटाउन लागि पर्ने सदभावना दूत जोशीले बताउनुभयो ।
बाजुराको बुढीगंगा नगरपालिकाको थुमा गाउँमा जन्मिएकी जोशी आफैं पनि छाउपडी प्रथाका कुसंस्कार भोगेको बताउँदै यो प्रथाले समाज विकासमा अवरोध सिर्जना गरेकोले यसका विरुद्ध लागिरहेको बताउनुभयो ।
‘महिनावारीसँग जोडिएका कुप्रचलनले हाम्रा आमा दिदी बैनीहरुले भोग्नु परेको जस्तै पिडा विगतमा मैले पनि भोगेकी छु । यही प्रथाका कारण हाम्रा दिदी बहिनीहरुले रोग, भोक र हिंसाको सिकार भएको र ज्यानै गुमाएको पनि देखेकी छु,’ जोशीले भन्नुभयो ‘यो अमानविय कुसंस्कारविरुद्धको अभियानका विषयमा हामीले बोल्नै पर्छ भनेर पहिलादेखि नै लागेकी थिए । अब संस्थागत रुपमै सक्रिय हुने अवसर मिलेको छ ।’
छाउपडी प्रथा अन्त्य गर्नका लागि युवा वर्गलाई उत्प्रेरित गर्ने र युवाहरुलाई यस अभियानमा गोलबद्ध गर्दै अन्धविश्वासका विरुद्ध अभियान चलाउने उहाँले बताउनुभयो । ‘पहिले जस्तो अहिले छैन, अहिले जस्तो भोली हुदैन । मलाई विश्वास छ, चाँडै यो कलंकको दाग हामी मेटाएरै छाड्ने छौं,’ उहाँले बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा महिनावारी सम्बन्धी हानिकारक अभ्यासहरुको कारणले गर्दा दर्जनौं महिलाहरुले ज्यान गुमाइसकेका छन् ।


2188 पटक हेरिएको 

