
बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाले छाउपडी हटाउन धामी, झाँक्री र पुरोहित सँग छलफल सुरु गरेको छ । समाजमा कुप्रथाको रूपमा रहेको छाउपडी र बालविवाह न्यूनीकरणका लागि धामी, झाँक्री र पुरोहित सँग छलफल चलाइएको बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले जानकारी दिनुभयो ।
महिनावारी भएको समय घरभित्र बस्दा देउता रिसाउने र अनिष्ट हुने अन्धविश्वास रहेको र यसमा धामी, झाँक्रीको मुख्य भूमिका हुने भएकाले छलफलमा उहाँहरुलाई नै राखेर जनचेतना जगाउने काम भईरहेको उपप्रमुख विष्टले बताउनुभयो । समाजमा बालविवाह पनि व्याप्त रहेकाले त्यसको अन्त्यका लागि विवाह जुराउने पुरोहितलाई कानुनी व्यवस्था र बिहे गराए बापत पाउने सजायबारे पनि जानकारी गराइएको उहाँले बताउनुभयो ।
धामी, झाँक्री र पुरोहित सँग छलफल चलाउनु अघि उपप्रमुख विष्टको संयोजकत्वमा छाउगोठ अनुगमन गरिएको थियो । त्यस लगत्तै बसेको समीक्षा बैठकले धामी, झाँक्री र पुरोहित सँग छलफल चलाइ छाउपडी तथा बालविवाह न्यूनीकरणका प्रयास थालिने निर्णय गरिएको थियो ।
महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत बडीमालिका नगरपालिका वडा नम्बर २ र ८ लाई अन्तर्राष्ट्रिय नारी दिवस अवसर पारेर २४ फागुनमा छाउपडी गोठमुक्त वडा घोषणा गर्ने र विभिन्न कार्यक्रम गरी किशोरीलाई स्यानिटरी प्याड निर्माण लगायतका जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।
नगरपालिकाले आयोजना गरिएको छलफल कार्यक्रममा नेपाल प्रहरी, पिसविन बाजुरा, साहस नेपाल, आईएनएफ, पत्रकार, जिल्ला स्थित विभिन्न संघ–संस्थाले साथ दिएका छन् ।


1116 पटक हेरिएको 

