गाउँ-गाउँ पुगेर महिनावारी सचेतनाको बिगुल फुक्दै गायिका रेखा जोशी

सुदुरपश्चिम : चर्चित देउडा गायिका रेखा जोशीले सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँ गाउँमा पुगेर स्टेज कार्यक्रमका माध्यमबाट महिनावारीबारे सचेतना फैलाउन थाल्नु भएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना नेपालले गायिका जोशीलाई सुदूरपश्चिम प्रदेशको मर्यादित महिनावारी व्यवस्थापन सद्भावनादूतमा नियुक्त गरे सङ्गै सांगीतिक माध्यमबाट ग्रामीण बस्तीमा महिनावारी बारे सचेतना फैलाउन सक्रिय हुनु भएको हो ।

सुदूरपश्चिममै घर भएकी चर्चित गायिका जोशी सांगीतिक माध्यम मार्फत डडेल्धुराको आलीताल, डोटिको बोगटानमा हजारौं संख्या महिलाको सहभागितामा महिनावारी सम्बन्धी सचेतना स्टेज कार्यक्रम गरिसक्नुभएको छ । उहाँ अझै बाँकी पहाडी जिल्लाका ग्रामीण बस्तीमा समेत महिनावारी सम्बन्धी सचेतना स्टेज कार्यक्रम गर्ने क्रममा हुनुहुन्छ । संगीतको माध्यमबाट महिनावारी सम्बन्धी सचेतना कार्यक्रम ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहकार्यमा गरिरहनु भएको हो ।

महिनावारी भएको समयमा महिलालाई छुनुहुँदैन, दुधजन्य पदार्थ खानुहुदैन, अलग बस्नु पर्छ, गोप्य रहनु पर्छ भन्ने गलत मानसिकताका कारण महिलाले कठिन पीडा सह्नु पर्ने बाध्यता छ भने छाउगोठमै महिलाले अकालमै ज्यान गुमाउनु परिरहेका छन् । यस कुप्रथालाई न्यूनीकरण गर्न आफुले विभिन्न सांगीतिक कार्यक्रमका माध्यमबाट जनस्तरमा महिनावारी सम्बन्धि सचेतना गराउन थालेको गायिका रेखा जोशीले बताईन ।

स्थानिय तहका जनप्रतिनिधि र सुरक्षा निकायको अगुवाईमा सम्बन्धित पक्ष आफैलाई गोठ भत्काउन र महिलाहरुलाई सुरक्षित रुपमा घरभित्र बस्न लगाउने अभियान संचालन गरे पनि अझै छाउपडी कुप्रथा कायमै देखिएपछि गायिका जोशीलाई सुदूरपश्चिम प्रदेशको मर्यादित महिनावारी व्यवस्थापन सद्भावनादूतमा नियुक्त गरेर सांगीतिक माध्यमबाट छाउपडी सम्बन्धी जनचेतना गराउन थालिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना नेपालले जनाएको छ ।

सुदुरपश्चिममा महिनावारी भएको अवस्थालाई छाउ भएको भनिन्छ । देवता रिसाउने धार्मिक बिश्वासका आधारमा समुदायमा सामाजिक कुसंस्कार र कुप्रथा हट्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार