काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न स्थानीयले शनिवार पनि अवरोध जारी राखेका छन्। पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेपनि माग सम्बोधन नभएको भन्दै फोहोर बिर्सजन कार्यमा जारी अवरोध कायमै रहेको सरोकार समितिले जनाएको छ ।
सिसडोलका स्थानीयले यही फागुन २३ गतेदेखि विरोध प्रदर्शन सुरु गरेका हुन् । प्रभावित क्षेत्रको गुठीको जग्गा कानुनी प्रक्रिया अनुसार रैकर गर्नुपर्ने, प्रभावित क्षेत्रको उच्च प्रभावित बनेका वस्ती स्थानान्तरण गर्नुपर्ने, फोहोर बिसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहोर बिसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने स्थानीयको माग रहेको ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र सरोकार समिति’का संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिनुभयो ।
“सरकारले प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय समिति र ‘र्यापिड एक्सन टास्क फोर्स’ गठन गर्ने निर्णय गरे पनि त्यसमा हामीहरुको जायज मागको सम्बोधन भएको छैन”, संयोजक ढुङ्गानाले भन्नुभयो, “नयाँ माग र समस्या केही होइन, यस अघि भएको सहमतिको पालना गर्न सरकारीस्तरबाट स्पष्ट निर्णय नआएसम्म विरोध कायम रहन्छ ।”
प्रभावित क्षेत्रका बासिन्दाले विभिन्न अध्ययन प्रतिवेदनले मानव बसोबासको लागि जोखिम भनी औल्याएका नुवाकोट र धादिङमा पर्ने विभिन्न बस्ती स्थानन्तरण र उक्त क्षेत्रको करिब तीन हजार रोपनी जग्गा अधिग्रहण हुनुपर्ने माग मुख्य रुपमा उठाएका छन् ।