महिनावारी स्वच्छता व्यवस्थापन बारे पैरवी गर्न किशोरी सञ्जाल प्रभावकारी बन्दै

इन्दु साहको संयोजकत्वमा किशोरी आवाज सञ्जाल गठन

सिरहा : सिरहा जिल्लाका सिरहा, कर्जन्हा र कल्याणपुर नगरपालिकाका ३४ जना अगुवा किशोरीहरु एकै स्थानमा भेला भई महिला तथा किशोरीहरुको मर्यादित महिनावारी अधिकारका सवालमा पैरवी गर्न एकजुट भएका छन् ।

समाजमा विद्यमान रीतिरिवाज र कुसंस्कारका कारण बालिकाहरुले आफ्नो महिनावारी समयमा विभिन्न कुराहरुमा रोकावट हुने गरेको, खानेकुरा, व्यक्तिगत सरसफाइ गर्ने कुरा र आवश्यक स्वच्छता सााग्रीको सहज उपलब्धता समेतमा कठिनाइ भएकाले किशोरी आवाज सञ्जाल मार्फत यसबारे पैरवी गर्ने भएका हुन् ।

सिरहाको मिर्चैयामा आयोजित महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी पैरवी कार्यशालामा आफ्नो सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि संगठित भएर आवाज उठाउने किशोरीहरुले प्रतिबद्धता जनाएका छन् । किशोरीहरुले विद्यालय, समुदाय तथा सार्वजनिक स्थलहरुमा महिलामैत्री खानेपानी, सरसफाइ तथा स्वच्छताको सुविधा उपलब्धका लागि पहल गर्ने र सरोकारवाला निकाय तथा जिम्मेवार पदाधिकारीहरुलाई यस बारे प्रश्न गर्ने जनाएका छन् ।

कार्यशालामा नेपालको संविधान र विभिन्न कानूनहरुले महिनावारी सम्बन्धी हुने सबै किसिमका छुवाछुत वा भेदभाव अमानवीय व्यवहारहरू हुन् भनी दण्डनीय बनाएको बारे पनि चर्चा गरिएको थियो ।

इन्दु साहको संयोजकत्वमा किशोरी आवाज सञ्जाल गठन

कार्यशालामा सहभागीकिशोरीहरु समूहकार्य गरि आफ्नो विद्यालयतथा समुदायका समस्याबारे सहभागीलाई जानकारी गराउँदै ।

भेलामा उपस्थित किशोरीहरुले आगामी दिनमा समेत संगठित भएर कार्य गर्ने उद्देश्यले इन्दु साह (कर्जन्हा, सिरहा) को संयोजकत्वमा ३४ सदस्यीय किशोरी आवाज सञ्जाल गठन गरेका छन् । त्यसै गरी संजना साह सिरहा, नेहाकुमारी पूर्वे, कल्याणपुर र इन्दु साह, कर्जन्हा रहेको नगरपालिका स्तरको किशोरी समूह समेत गठन गरेका छन् । आगामी दिनमा आ–आफ्नो पालिकाका अन्य अगुवा किशोरीहरुलाई समेत समेटेर बालबिबाह, किशोरी शिक्षामा साथी शिक्षकका रुपमा कार्य गर्ने जनाएका छन् ।

सहभागीहरुले संविधान, कानुन र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरुले समेत महिला तथा किशोरीको मर्यादित महिनावारीको अधिकारलाई आधारभुत मानव अधिकारका रुपमा सुनिश्चितता गरेको छ भन्ने बारे छलफल गर्दै नेपालमा भने यस सम्बन्धमा पर्याप्त कानून तथा भएका कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा यस सम्बन्धी समस्याहरु समाधान हुन नसकेको विचार व्यक्त गरेका छन् ।

उनीहरुले राष्ट्रिय मर्यादित महिनावारी नीति २०७५ को मस्यौदालाई तुरुन्त कानूनको रुपमा पास गर्न, विद्यालयहरुमा निःशूल्क प्याडको उपलब्धता, प्रयोग गरेको प्याडको उचित व्यवस्थापन, किशोरीहरुमा मनोसामाजिक परामर्श जस्ता सुविधामा राज्य र स्थानीय सरोकारवाला निकायहरुले अविलम्ब कदम चाल्नु पर्ने तर्फ आवाज उठाएका छन् ।

सवल नेपालका खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना संयोजक भीम शाहीले मिथिला समाज तथा परिवारमा महिनावारीलाई बार्ने त्यत्ति कठोर चलन नरहे पनि घरपरिवार, विद्यालय र सामाजिक/सार्वजनिक संस्थाहरुमा महिला तथा किशोरीमैत्री खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाहरुको अभाव भएका कारण बालिकाहरुलाई असुविधा भएको बताउनुभयो ।

वहाँका अनुसार धेरैजसो सरकारी÷सामुदायिक विद्यालयहरुमा महिला/बालिका मैत्री शौचालय नहुनु, भएका शौचालयमा पनि पानीको सुविधा नहुनु महिनावारी स्वच्छता व्यवस्थापनमा आवश्यक अन्य सुविधा नहुनु जस्ता समस्याहरु साझा सवालको रुपमा रहेको छ ।

कार्यशालाको सहजीकरण सवल नेपालकी अध्यक्ष जुना गिरी र पोषण तथा स्वच्छता अधिकृत भवानी रायले गर्नु भएको थियो भने कार्यक्रमको व्यवस्थापनमा वेल्टहंगर हिल्फे र यसको साझेदार संस्था सवल नेपालले सहयोग गरेको थियो ।

किशोरी आवाज सञ्जाल, सिरहा गठन पश्चात समूहमा तस्वीर लिदैं सहभागीहरु ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार