
काठमाडौ : दिगो विकास लक्ष्य प्राप्तिका लागि बाँकी रहेको समयमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा बार्षिक २९ प्रतिशत बजेट बृद्धि गर्दै लैजानुपर्ने देखिएको छ । दिगो विकास लक्ष्य आधार बर्ष २०१६ मा सन् २०३० सम्मका लागि १६.३६ खर्ब बजेट आवश्यक पर्ने प्रक्षेपण गरिएको थियो ।
दिगो विकास लक्ष्य लागु भएयता सन् २०२१ सम्ममा २.३५ खर्ब बजेट मात्र विनियोजन भएको र ती मध्ये पनि १.३५ खर्ब मात्र खर्च भएकाले बाँकी रहेको ८ बर्षभित्र १४.९९ खर्ब बजेट लगानी गर्नुपर्ने वाटर एड नेपालका नीति विशेषज्ञ गोविन्द श्रेष्ठले बताउनुभयो ।
स्थानीय तहमा खानेपानी तथा सरसफाइ (दिगो विकास लक्ष्य ६.१ र ६.२) कार्यान्वयन सम्बन्धी ललितपुरमा भएको समीक्षा कार्यक्रममा उहाँले यो लगानी जुटाउन बार्षिक २९ प्रतिशत बजेट अभिवृद्धि गदै लैजानुपर्ने बताउनुभयो । यस हिसाबले दिगो विकास लक्ष्य प्राप्तिका लागि तोकिएको अन्तिम बर्ष सन् २०३० मा सबैभन्दा बढी ३८७ अर्ब बजेट आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।

कहिले कति बजेट आवश्यक ?
दिगो विकास लक्ष्यको आधार बर्ष २०१६ मा वाश क्षेत्रको लक्ष्य प्राप्तिका लागि १६.३६ खर्ब बजेट आवश्यक पर्ने प्रक्षेपण गरेको नेपालले दिगो विकास लक्ष्य शुरु भएको पाँच बर्षमा १.३५ मात्र बजेट लगानी गरेको छ । अब नेपालका लागि लक्ष्य हासिल गर्न १४.९९ खर्ब रकम आवश्यक पर्छ । उक्त रकम जुटाउन बार्षिक निम्नानुसार बजेट आवश्यक पर्ने वाटर एडका नीति विशेषज्ञ श्रेष्ठले जानकारी दिनुभयो ।
सन् २०२१/०२२ – ५१ अर्ब
सन् २०२२/०२३ – ६५ अर्ब
सन् २०२३/०२४ – ८४ अर्ब
सन् २०२४/०२५ – १०८ अर्ब
सन् २०२५/०२६ – १४० अर्ब
सन् २०२६/०२७ – १८० अर्ब
सन् २०२७/०२८ – २३३ अर्ब
सन् २०२८/०२९ – ३०० अर्ब
सन् २०२९/३० – ३८७ अर्ब



1503 पटक हेरिएको 

