ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिका स्थित लुभुमा सुरक्षित खानेपानीयुक्त समुदाय प्रबर्द्वनका लागि जनचेतनामूलक कार्यक्रम गरिएको छ । कार्यक्रममा विभिन्न ९ वटा मुहानको पानी परिक्षण गरी तिनको नतिजा सार्वजनिक गरिएको छ । महालक्ष्मी नगरपालिकाको विभिन्न ९ वटा पानीको स्रोतको नमुना परिक्षण गर्दा ४ वटा मुहानको पानीमा इकोली भेटिएको र ५ वटा नमुनामा कुनै पनि जैविक प्रदुषण नभेटिएको वातावरण र जनस्वास्थ्य संस्थाका कार्यक्रम अधिकृत मेरिना महर्जनले जानकारी दिनुभयो ।
विश्व पानी दिवसको अवसरमा युनिसेफ नेपालको सहकार्यमा वातावरण र जनस्वास्थ्य संस्था एन्फोले आयोजना गरेको जनचेतनामूलक कार्यक्रममा पानी परिक्षणको नतिजाका साथै सम्बन्धित खानेपानी उपभोक्ता समितिलाई पानी सुरक्षित बनाउने उपाय समेत जानकारी गराईएको थियो । खानेपानीको मिक्स किट (MICS Test Kit) प्रयोग गरी परिक्षण गरिएको हो ।
यस्तै महालक्ष्मी माध्यमिक विद्यालय वरपरका चिया पसल, खाजा घर, चटपटे पसल लगायतमा प्रयोग हुने पानीको विद्यार्थीहरु आफैले परिक्षण गरी निकालेको नतिजालाई समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । पिए भाइल टेस्ट किट प्रयोग गरी विद्यालयको तीन सय मिटर वरपरका २० वटा त्यस्ता पसलमा प्रयोग हुने पानी परिक्षण गर्दा कुनै पनि जैविक तथा रासयनिक प्रदुषण नभेटिएको एन्फोका कार्यक्रम अधिकृत विभोर महर्जनले जानकारी दिनुभयो ।
जनचेतनामूलक कार्यक्रममा खानेपानी सुरक्षा सम्बन्धी विभिन्न पोष्टरहरु समेत प्रदर्शन गरिएको थियो । विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी तथा महालक्ष्मी माध्यमिक विद्यालय र लुभु माध्यमिक विद्यालयका विद्यार्थीहरु गरी करिब ४ सय जनाले अवलोकन गरेको कार्यक्रम अधिकृत महर्जनले जानकारी दिनुभयो ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले युनिसेफ नेपालको आर्थिक सहयोगमा ललितपुरको महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकामा खानेपानी सुरक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तीनै वटै नगरपालिकाबाट केही समुदायलाई छनौट गरी सुरक्षित खानेपानीयुक्त शहरी समुदाय समेत घोषणा गर्ने वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को कार्यक्रम छ ।
कार्यक्रमका थप फोटाहरु :