फोहोर व्यवस्थापनको नमुना : जहाँ घरघरबाट संकलन गरेको फोहोर मल बनाएर फिर्ता दिइन्छ (भिडियो रिपोर्ट)

  पी.टी.लोप्चन  1386 पटक हेरिएको

काठमाडौ : सफाई कर्मचारी फोहोर संकलन गर्न सिट्ठी बजाएर घरघरै पुगिरहेका हुन्छन् । तैपनि घर घरबाट उत्पादित हुने फोहोरको मात्रा एकदमै कम हुन्छ । कतिपयको घरबाट फोहोर नै निस्कँदैनन् भने निकालेका घरको फोहोर पनि एकदमै थोरै हुन्छ ।

कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्याउन थालेपछि फोहोरको मात्रा घटेको हो । काठमाडौ महानगरपालिकाको ४ नम्बर वडा कार्यालयको सहकार्यमा नेप्सेम्याक सेवा प्रा.लि.ले महानगरपालिकाको बालुवाटार, विशालनगर र चण्डोल लगायतको क्षेत्रमा विगत एक बर्षदेखि घरमै फोहोर छुट्याएर व्यवस्थापन गर्न थालेको हो ।

हेर्नुहोस् यो भिडियो :

काठमाडौ उपत्यकाभित्र करिब १ लाख घरपरिवारको फोहोर व्यवस्थापन गर्दै आएको नेम्प्सेम्याक सेवा प्रा.लि.ले नागार्जुन नगरपालिकाको करिब ९ हजार घरधुरी, ललितपुर महानगरपालिकाको वडा नं. ४ र भक्तपुरको केही क्षेत्रमा फोहोरलाई स्रोतमै बर्गीकरण गर्दै आएको छ ।

त्यहीको सफल अभ्यासलाई नेप्सेम्याकले काठमाडौ महानगरपालिकाको वडा नंं ४ मा पनि अबलम्बन गरिएको हो । फोहोरलाई स्रोतमै छुट्याउन थालेपछि नेप्सेम्याक सेवा प्रालि.ले कुहिने फोहोर हप्ताको दुई दिन र नकुहिने फोहोर हप्ताको एक दिन उठाउँदै आएको छ । यसले गर्दा फोहोर व्यवस्थापन गर्न निक्कै सजिलो भएको घरमूलीहरु बताउँछन् ।

‘घरमै फोहोर छुट्याउनुपर्ने भएपछि पहिले जस्तो सडकमा फोहोर निकाल्ने चलन हटेको छ । कुहिने फोहोर गनाउँला कि भन्ने पनि छैन, किनकि हप्ताको दुई दिन उठाउन गाडी पठाउँछ’ चण्डोलको बंशीधर मार्गका पदम कुमार शर्मा भन्नुहुन्छ ‘नकुहिने फोहोर संकलन गर्न हप्ताको एक दिन गाडी आउँछ । अहिले त फोहोर व्यवस्थापनको कुनै समस्या नै छैन ।’

कुहिने फोहोर संकलन गर्न जाँदा घरमूलीले नकुहिने फोहोर निकालेका रहेछन् भने पनि उक्त फोहोर त्यो दिन उठाईदैन । फोहोरलाई पहिले जस्तै एकैठाउँमा मिसाएर राख्छन् कि भनेर अनुगमन गर्नका लागि पनि नेम्प्सेम्याकले छुट्टै कर्मचारी पनि खटाएको छ ।.कर्मचारीले ठाउँका ठाउँ फोहोर छुट्याउने तरिका सिकाउने र यसको व्यवस्थापनका लागि सचेतना प्रवाहको काम पनि गर्ने गरिएको छ ।

फिल्डमै खटिनु भएकी नेम्प्सेम्याक सेवा प्रा.लि.की लेखा सहायक केसरी श्रेष्ठ भन्नुहुन्छ ‘पहिले पहिले धेरै समस्या हुन्थ्यो, तिमीहरुलाई पैसा पनि दिनुपर्ने, छुट्याएर पनि दिनुपर्ने भन्दै गाली गर्नुहुन्थ्यो । कतिले त जस्तो पायो त्यस्तै फोहोर जबरजस्ती गाडीमा हालेर पठाउँथ्यो, तर अहिले त्यस्तो छैन ।’

उहाँका अनुसार नियमित रुपमा कुहिने फोहोर र नकुहिने फोहोर छ्ट्याउँदाको फाइदाबारे सचेतनामूलक कार्यक्रम, घरधुरी भेटघाट र अनुगमन गरी फोहोरको उचित तरिकाले वर्गीकरण भए नभएको हेरेर सल्लाह सुझाव दिएपछि फोहोरलाई स्रोतमै छुट्याउने काममा सुधार आएको हो ।

कुहिने र नकुहिने फोहोर घरमै छुट्याँउँदा फोहोरको परिमाण घट्ने नेप्सेम्याक सेवा प्रा.लि. महाराजगञ्ज शाखाका ड्यूटी इन्चार्ज एकराज सुवेदी बताउनुहुन्छ । यसले गर्दा व्यवस्थापन गर्न सजिलो हुने र घरमूली आफैले पनि प्राङगारिक मल बनाएर कौसी खेती गर्न सकिने उहाँले बताउनुभयो ।

‘फोहोरलाई घरमै छुट्याएर फोहोर व्यवस्थापनमा सघाउ पु¥याए बापत हामीले बर्षेनी एक घरपरिवारलाई ५ किलो मल समेत दिने गरेका छौं । फोहोरलाई छुट्याईसकेपछि किन गाडीमा हालेर पठाउने ? घरमै मल बनाएर कौसी खेती गर्ने नि ? भनेर कौसी खेती गर्ने घरमुलीहरु पनि बृद्धि हुँदै गएको छ’ उहाँले भन्नुभयो ।

फोहोरलाई एकैठाउँमा थुपारेर पठाउँदा घरघरबाट उठाएको फोहोरलाई पनि पुनः छुट्याउनु पर्ने बाध्यता छ । सबैखाले फोहोर एकैठाउँमा हालेर पठाउने हुँदा त्यसलाई छुट्याउन मात्र सयौं सफाईकर्मचारी परिचालित छन् । यसले गर्दा सफाइ कर्मचारीको स्वास्थ्यमा ठूलो जोखिम सिर्जना हुने गरेको छ ।

फोहोरमैला व्यवस्थापनको पहिलो काम नै कुहिने र नकुहिने फोहोरलाई छुट्याउनु हो । कुहिने फोहोरबाट मल बनाउन सकिन्छ भने पुनः प्रयोगमा ल्याउन सकिने फोहोर कवाडखानामा बेच्न सकिन्छ । यत्ति मात्र गर्न सके, फाल्नै पर्ने फोहोर एकदम न्यून हुने जानकारहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार