सैनामैनामा नमुना फोहोरपानी प्रशोधन केन्द्र

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकामा नमुना फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । घरबाट निस्किने फोहोरपानीलाई प्रशोधन गर्न नमुना फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिएको हो ।

सङ्घीय सरकारको सहयोगमा मुर्गिया खानेपानी तथा उपभोक्ता संस्था मार्फत निर्माण भएको यो परियोजना प्रदेशकै नमुना ढल परियोजनाका रूपमा रहेको बताइएको छ । सैनामैना–३ को रामबस्ती र वडा नम्बर ४ को करबलामा व्यवस्थित फोहोरपानी प्रशोधन केन्द्र निर्माण भएको हो । व्यवस्थित ढलमा जोडेर केन्द्रसम्म पुर्‍याउने र त्यहाँ प्रशोधनपछि सिँचाइ लगायतमा प्रयोग गर्न मिल्ने बताईएको छ ।

वडाका विभिन्न टोलबाट फोहोरपानी ढल मार्फत प्रशोधन केन्द्रसम्म पुग्नेगरी व्यवस्थित पाइपलाइन जडान गरिएको छ । सङ्घीय आयोजना मार्फत यी दुई ठूला आयोजनाले सैनामैनाको फोहोर व्यवस्थापनमा महत्वपूर्ण टेवा पुर्‍याएका छन् । सैनामैना नगरपालिकाले नर्कटको प्रयोगबाट प्राकृतिक रूपमै  फोहोरपानी प्रशोधन गरेर मात्रै नदीमा छाड्ने गरेको छ । करिब १६ करोड रुपियाँको लगानीमा निर्माण गरिएको फोहोरपानी प्रशोधन केन्द्रबाट वडा नम्बर ३ को रामबस्तीमा सैनामैनाका १५० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् भने वडा नम्बर ४ मा पाँच सय घरको फोहोरपानी प्रशोधन केन्द्रमा लगिएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा निर्माण भएको प्रशोधन केन्द्र निर्माणमा मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाले सहकार्य गरेको छ भने नगरपालिकाले खानेपानी संस्था मार्फत पाँच हजारभन्दा धेरै उपभोक्तालाई अभियानमा सरिक बनाएको छ । यसका बारेमा सचेतनाका काम पनि अगाडि बढाइएको मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनु भएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।

नगरपालिकाकै पहलमा सैनामैनाको करिब एक लाख जनसङ्ख्यालाई स्वच्छ खानेपानीको प्रबन्ध गर्नुका साथै घरदेखि उत्सर्जन हुने फोहोरको प्रभावकारी व्यवस्थापन गरिएको छ । फोहोरपानी प्रशोधन केन्द्रमा घरको फोहोर पानी ल्याउनका लागि मुर्गिया बजारदेखि घमाहा खोलासम्म करिब चार हजार मिटर लम्बाइको ढल निर्माण गरिएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार