शौचालय गएपछि हात धुने : परम्परागत शौचालय प्रयोगकर्ता भन्दा आधुनिक शौचालय प्रयोगकर्ता बढी

काठमाडौ : परम्परागत शौचालय प्रयोग गरेपछि हात धुने प्रयोगकर्ताहरुको संख्या भन्दा आधुनिक शौचालय प्रयोगकर्ताको हात धुने संख्या बढी रहेको एक अध्ययनले देखाएको छ । ललितपुर महानगरपालिकामा रहेको सार्वजनिक शौचालयमा विश्व स्वास्थ्य संगठन (WHO), खानेपानी तथा ढल व्यवस्थापन विभाग (DWSSM), हिक्याफ ३६० (HICAF360), राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, एरोशान सस्टेनेवल स्यानिटेशन र गैर सरकारी संस्था गुथिले गरेको ३ दिनको अनुसन्धान अध्ययनबाट यस्तो देखिएको हो ।

ललितपुर महानगरपालिका स्थित परम्परागत सार्वजनिक शौचालयमा प्रति घण्टा ७५ जना र आधुनिकमा १५ जना प्रयोगकर्ताहरुले शौचालय प्रयोग गरेको अध्ययनले देखाएको छ । विशेष गरी महिला प्रयोगकर्ताहरुलाई फोहोर पानीले संक्रमण हुन सक्ने भएकोले महिलाहरुलाई शौचालय प्रयोग गर्न असहज हुने गरेको छ ।

परम्परागत सार्वजनिक शौचालयमा हात धुनका लागि स्वच्छ पानी र सावुनको उचित व्यवस्था नभएकोले २५% प्रयोगकर्ताहरुले पानीले मात्र हात धोएको देखियो भने आधुनिक शौचालयमा स्वच्छ पानी र सावुनको उचित व्यवस्था भएकोले १००% ले सावुन पानीले हात धोएका थिए ।

अनुसन्धानको क्रममा परम्परागत तथा आधुनिक शौचालयमा प्रयोग हुने धाराको पानीको गुणस्तर परिक्षण गर्दा परम्परागत शौचालयमा इकोलि (E-COLI) किटाणुको संक्रमण देखियो भने आधुनिक शौचालयको धाराको पानीमा गुणस्तर राम्रो रहेको र कुनै किटाणुबाट संक्रमण नभएको अध्ययनमा पाईएको थियो ।

ईकोलि एक प्रकारको किटाणु हो जुन विशेष गरि दिसामा पाईने गर्दछ । पानीको मुहान तथा श्रोतहरुमा दिसाजन्य फोहोरको संक्रमण हुँदा यस्ता किटाणुहरु देखिने गर्दछ । यस्तो पानीको प्रयोग गर्दा वा शौचालय प्रयोग पश्चात राम्ररी सावुन पानीले हात नधोएमा मानिसहरुलाई झाडापखाला, उल्टि, हैजा जस्ता रोगको संक्रमण हुने सम्भावना अत्याधिक हुने गर्दछ ।

परम्परागत र आधुनिक शौचालयका प्रयोगकर्ताहरुको शौचालय प्रयोग गर्नु अगाडि र प्रयोग पश्चात हात धोएको पानीको नमुनाको परिक्षण गर्दा परम्परागत शौचालयमा इकोलि किटाणुको संक्रमण रहेको पाइएको छ भने आधुनिक सार्वजनिक शौचालयको प्रयोगकर्तामा इकोली किटाणुको संक्रमण नरहेको पुष्टि गरेको छ ।

एरोशान हव सार्वजानिक शौचालयमा स्रोतको पानी स्वच्छ र किटाणु रहित पाईनुका साथै प्रयोग कर्ताहरूले अनिवार्य शौचालय प्रयोग पछि हात धुनुले यस्को महत्व र उपादेयता लाई थप महत्व दिएको एरोशान का कार्यकारी प्रमुख प्रकाश अमात्यले भन्नु भयो ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधी राजाराम पोटे श्रेष्ठले हात धुने सामान्य बानीले ८० प्रतिशत पानी जन्य रोगको रोकथाम गर्न सकिने भएकोले शौचालय प्रयोग पछि अनिवार्य हात धुने र शौचालयको अवस्थालाई व्यापक सुधार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

शौचालय प्रयोग पछि अनिवार्य हात धुनु पर्ने कुरा जनस्वास्थ्यको हिसावले अनिवार्य भएको र यस्लाई प्रारम्भिक कक्षा देखि सिकाउनु पर्ने आवश्यकता औंल्याउँदै मानिसको व्यवहार परिवर्तन नै स्वस्थ जीवन यापनका आधार भएको कुरा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका प्रमुख प्रशासक नोडनारायण चौधरीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार