फोहोर उठाउने जिम्मा वडालाई दिने जनकपुरधामका मेयरको पहिलो निर्णय

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले फोहोर उठाउने जिम्मेवारी सबै वडालाई दिने निर्णय गर्नुभएको छ । यसअघि शहरी क्षेत्रको फोहोर उठाउने काम उपमहानगरपालिकाले केन्द्रीकृत रुपमा गरिरहेकोमा त्यसलाई विकेन्द्रित गरी वडालाई जिम्मेवारी दिने निर्णय गर्नुभएको हो ।

मंगलबार पदभार ग्रहण गर्दै उहाँले वडालाई स्रोत साधन सम्पन्न बनाएर फोहोर उठाउने जिम्मेवारी दिने निर्णय गर्नुभएको हो । यसअघि बजार क्षेत्रको धेरै ठाउँमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिँदा समेत मेयरले ध्यान नदिएको भन्दै तत्कालिन मेयरको घर अगाडि फोहोर फालेर वडाअध्यक्षहरुले विरोध जनाएका थिए । उनीहरुले सबै स्रोतसाधन उपमहानगरपालिकाले आफ्नो नियन्त्रणमा राखेको भन्दै विरोध जनाएका थिए ।

यस्तै, उपमहानगरपालिका कार्यालयलाई थप सेवाग्राही मैत्री बनाउने, सुशासनयुक्त र पारदर्शी बनाउने निर्णय पनि भएको भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । कर्मचारी अभावले यसअघि विभिन्न शाखामा विषय बिज्ञ नभएपनि खटाउने काम हुँदै आएकोमा त्यसलाई रोक्ने निर्णय भएको उपाध्यायले बताउनुभयो । ‘एक शाखाका कर्मचारीलाई अरु शाखामा राख्ने काम भइरहेको थियो त्यसलाई रोक्ने निर्णय भएको छ’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार