नेपालगञ्ज : वर्षातको समयमा ढल र नाला फोहोरले थुनिएर डुबान हुँदै आएको नेपालगन्जमा यस पटक वर्षा शुरु हुनुभन्दा अगावै ढल र नाला सरसफाइ गर्न थालिएको छ । ढल र नालामा फोहोर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाउँमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर जेसिभी मार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीका अनुसार बसपार्कबाट पूर्व, गणेशपुर, बागेश्वरी मन्दिर हुँदै सुर्खेत राजमार्ग आसपास ढल र नाला सरसफाइ गर्ने काम भईरहेको छ । उहाँले उपमहानगरको पहिलो प्राथमिकतामा ठूला र मझौला नाला सफाइ रहेको बताउनुभयो ।
केही वडाका नालामा वडा कार्यालय मार्फत पनि नालाहरुको सरसफाइको काम सुरु भएको नेपालगञ्जका उपमेयर कमरुद्दीन राईले बताउनुभयो । बर्षा शुरु हुनुभन्दा पहिले नै नालाको सरसफाइ गर्न जनताको माग पनि रहेकाले तत्काल सो कार्य शुरु गरिएको बताउनुभयो ।
जेसिभी लगायत साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहोर र लेदो हटाउन थालिएको उहाँले जानकारी दिनुभयो । ढल तथा नाला सरसफाइका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
यस पटक समयमै नाला र ढलको सरसफाइ गर्न लागिएकाले वर्षाको समयमा पानी परे पनि डुबानको समस्या कम हुने उल्लेख गर्दै सरसफाइ शाखाका प्रमुख डिसीले सरसफाइको काम सकिन १५ दिनभन्दा बढी समय लाग्ने बताउनुभयो । उपमहानगरपालिकामा ढल र नालाको समस्या समाधान गर्न केही दिनअघि नवनिर्वाचित नगरप्रमुख प्रशान्त विष्टले निर्देशन दिनुभएको थियो ।
नेपालगञ्ज बजारबाट मात्रै दैनिक २५ टन फोहरमैला सङ्कलन हुनेगरेको छ । सो फोहोरमैला उपमहानगरपालिकाको वडा २३ स्थित हिरिमिनियामा व्यवस्थापन गरिंदैआएको छ ।