पानी पँधेरोमा दश रुपैयाँमै अन्तर्राष्ट्रिय गुणस्तरको १ जार पानी, आर्थिक रुपमा किफायती, स्वास्थ्यका लागि सुरक्षित (भिडियो रिपोर्ट)

काठमाडौ : एक जार पानीको मूल्य काठमाडौमा ४० देखि ५० रुपैयाँ पर्छ र पनि यसको गुणस्तर निश्चित हुँदैन । तर काठमाडौ उपत्यकामै स्थापना भएका पानी पधेंराहरुले भने दश रुपैयाँमै अन्तर्राष्ट्रिय गुणस्तरको पानी उपभोक्तालाई वितरण गरिरहेका छन् ।

काठमाडौ महानगरपालिकाको वडा नंं ३२, बाँस झाङमा स्थापना भएको पानी पँधेरा, यस्तै पानी पधेरा मध्येको एक हो । जसले उपभोक्तालाई १० रुपैयाँमा एक जार, अन्तर्राष्ट्रिय गुणस्तरको पानी उपलब्ध गराउँदै आएको छ । साँझ ५ बजेदेखि ७ बजेसम्म र बिहान ६ बजेदेखि ९ बजेसम्म पानी पँधेरा खुला रहन्छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

एक पटकमा चार वटा जार भर्न सकिने पानी पँधेरामा सिक्का वा कार्डको माध्यमबाट स्वचालित तरिकाले भर्न मिल्ने प्रावधान छ भने हातकै सहायताले पनि भर्न सकिन्छ । वाग्मती प्रदेश, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको आर्थिक सहयोगमा २०७८ साल भदौ १९ गतेदेखि पानी पँधेरा सञ्चालनमा ल्याइएको हो । पानी पँधेराका नियमित उपभोक्ताहरु सुरक्षित पानी भएकाले फिल्ट्रेसन गरिरहनु नपर्ने र मूलको पानी जस्तै चिसो रहेको बताउँछन ।

पानी पँधेरोको सञ्चालन तथा व्यवस्थापनका लागि कमल नयन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको गठन गरिएको छ । समितिले कार्यालय सञ्चालन तथा एक जना कर्मचारीको तलब भत्तालाई मात्र पुग्ने गरी पानीको शुल्क निर्धारण गरिएको कमल नयन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बद्री कार्कीले बताउनुभयो ।

उपभोक्तालाई अन्तर्राष्ट्रिय गुणस्तरको पानी उपलब्ध गराउन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले कमल नयन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय नजिकै डिप बोरिङ गरेको छ । डिपबोरिङको पानी कार्यालयको छतमा रहेका रबरका ट्याङ्कीहरुमा जम्मा हुने र त्यसपछि अन्तर्राष्ट्रिय प्रविधिमा आधारित पानी प्रशोधन शालामा प्रवेश हुने अध्यक्ष कार्कीले बताउनुभयो । विभिन्न चरणमा प्रशोधन भईसकेको पानी गुणस्तर निश्चित भएपछि मात्र वितरण गरिएको उहाँले बताउनुभयो ।

काठमाडौको जडिबुटी नजिकै बाँस झाङकै जस्तो पानी पँधेरो काठमाडौका अन्य ३ स्थानमा पनि सञ्चालित छन् । आर्थिक बर्ष २०७७/०७८ को बजेटबाट प्रति पँधेरो करिब ४० लाखको लागतमा काठमाडौको चार स्थानमा पानी पँधेरो निर्माण गरिएको हो । पानी पँधेराहरु खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको आर्थिक एवं लुसेन्ट ड्रप नेपालको प्राविधिक सहयोगमा ३२ नम्बर वडा कार्यालयको समन्वय र सहकार्यमा निर्माण गरिएको हो । पानीको अभाव झेलिरहेका राजधानीका बासिन्दालाई पानी पँधेरोहरु धेरै प्रभावकारी बनेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर कुल प्रसाद शर्माले बताउनुभयो ।

गत आर्थिक बर्षमा काठमाडौको ४ स्थानमा स्थापना गरिएको पानी पँधेरोको अन्य स्थानमा समेत माग बढेपछि चालु आर्थिक बर्षभित्रै सम्पन्न हुने गरी दुई वटा पानी पँधेरा निर्माणाधीन अवस्थामा रहेको उहाँले बताउनुभयो । ‘वाग्मती प्रदेशका सभामुखको घर नजिकै नरेफाँटमा र गैरीगाउँमा पानी पँधेरो निर्माण भईरहेको छ, ती दुवै पानी पँधेरो चालु आर्थिक बर्षभित्रै सम्पन्न हुने चरणमा छन्’ उहाँले भन्नुभयो ।

काठमाडौ उपत्यकाका बासिन्दा खानेपानीको अभावमा जस्तोसुकै पानी पिउन बाध्य छन् । असुरक्षित पानीको सेवनले विभिन्न रोगको शिकार हुनुपरेका राजधानीबासीलाई पानी पँधेरोले केही मात्रामा भएपनि सुरक्षित पानीको सुनिश्चितता प्रदान गरेको छ । सीमित पानी पँधेराले थोरै जनसंख्याको मागलाई मात्र आपूर्ति गर्ने हुँदा यस प्रकारको नवीन प्रविधि र अवधारणालाई शहरका अन्य ठाउँमा समेत विस्तार गर्नुपर्ने देखिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार