आकाशेपानी संकलन तथा पुनर्भरणले पानीको गुणस्तर बढाउँछ, बाढीको जोखिम घटाउँछ

काठमाडौ : काठमाडौ उपत्यकामा भल बाढी चल्नलाई लामो समयसम्म बर्षा भईरहनु पर्दैन । केहीबेर दर्के पानी मात्र पर्नुपर्छ, काठमाडौ उपत्यकामा कतै डुबान त कतै सवारी साधन बगाउने गरी बाढी चल्न थाल्छ ।

काठमाडौ उपत्यका भित्रका खोला तथा नदीमा पानीको सतह पनि त्यसरी नै बढ्न थाल्छ । नदी किनारमा बस्नेलाई मात्र होइन अन्यलाई पनि नदीले सतह पार गरेर शहरमा पस्ला भन्ने उस्तै पीर हुन्छ । तर यी सबै हुनुको कारण तपाई हामीले नै निर्माण गरेका भौतिक संरचना हुन् भन्ने कुरा धेरैले बोध गरेकै हुँदैनौं ।

तर आकाशेपानी संकलन र पुनर्भरण गर्ने हो भने यी सबै समस्या हल हुनुका साथै जमिनमुनिको पानी समेत शुद्ध हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख अनिल केसरी बताउनुहुन्छ । काठमाडौमा ‘हैजाको प्रकोपबाट जोगिन सरसफाइ, पानीजन्य रोग, पानी शुद्धिकरण एवं पानीको सञ्चितिका विधि र तरिकाबारेको एक दिने खानेपानी सचेतना गोष्ठी’ मा आकाशेपानी संकलन र पुनर्भरणको महत्वबारे जोड दिदै उहाँले भन्नुभयो ‘हामीले बर्षातको पानीलाई संकलन गर्ने हो भने तत्काल बगेर जाँदैन, हरेक घरले संकलन गर्दा ढलमा बग्ने बर्षातको पानीको चाप कम हुन्छ र भलबाढी आउन पाउँदैन ।’

उहाँले आकाशे पानी संकलन गर्ने प्रविधि त्यत्ति महँगो पनि नपर्ने भएकाले सबैजसो घरले अपनाउन सकिने र खानेपानीको अभाव पनि हट्ने बताउनुभयो । आकाशबाट परेको पानी जमिनले सोस्न नपाएपछि तर्केर बग्दा सीधै बाढीको रुप लिएको उहाँले बताउनुभयो । ‘हामीले जमिनमुनि पानी छिर्ने ठाउँहरु सबै बन्द गर्‍यौं, सडक कालोपत्रे गर्‍यौं, घरको कम्पाउण्डमा पनि सिमेन्टले सिल गर्‍यौं र पानी जमिनमुनि छिर्नै दिएनौं’ उहाँले भन्नुभयो ।

जमिनमुनिको पानी पुनर्भरण हुन नपाउँदा पानीको सतह भासिने समस्या सँगै पानीको गुणस्तरमा समेत समस्या आएको जानकारी गराउँदै डिभिजन प्रमुख केसरीले भन्नुभयो ‘पहिले प्रति सेकेण्ड १० लिटर आउने डिपबोरिङबाट अहिले ५ लिटर मात्र आउन थालेको छ, पहिले पहिले ५० फिटको गहिराईमा भेटिने पानी सय फिटमा पनि भेटिएन भन्ने गुनासाहरु आउन थलोका छन् ।’

यी सबै समस्याहरु आउनुमा जमिनमुनिको पानी पुनर्भरण नगर्दाका परिणाम भएको उहाँले बताउनुभयो । जमिन मुनिको पानीको भोल्यूम घटेकै कारण जमिनमुनिको पानीमा अनेकन रासायनिक प्रदुषणहरु देखा पर्न थालेको उहाँको भनाइ थियो ।

यिनै अवस्थालाई ध्यानमा राखी आगामी बर्ष काठमाडौ उपत्यकाको केही स्थानमा आकाशेपानी संकलन तथा पुनर्भरण कार्यक्रम सञ्चालन गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको योजना रहेको डिभिजन प्रमुख केसरी बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार