दुहवी नगरपालिकाले तयार गर्‍यो वास प्लान


सुनसरी : सुनसरीको दुहवी नगरपालिकाले एनवास सफ्टवेयरको प्रयोग गरी खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास योजना) तयार गरेको छ । योजनालाई अन्तिम रुप दिनका लागि प्राथमिकीकरण कार्यशाला सम्पन्न भयो ।

सो कार्यशालामा बोल्दै नगर प्रमुख वेदनारायण गच्छदारले दुहवी नगरपालिकामा सरकारले निर्धारण गरेको समयभित्रै खानेपानी, सरसफाइ तथा स्वच्छताका सबै सूचक पूरा गर्नेगरी नगरपालिका अघि बढेको बताउनुभयो । “आजैदेखि ठोस फोहर प्रशोधन केन्द्रको परीक्षण गर्ने तयारी भैरहेको छ”, उहाँले भन्नुभयो, “घरायसी तथा संस्थागत सरसफाइ र सुरक्षित खानेपानीलाई नगरपालिकाले यस वर्षको वार्षिक योजनामा समेत प्राथमिकतामा राखेको छ ।”


प्लान इन्टरनेशनल नेपाल÷वास एसडिजी परियोजनाको सहयोग र ओम साई टेक्निकल इन्स्टिच्युटको सहजीकरणमा सो योजना तयार गरिएको हो ।

एनवास एप्लिकेशनका अलावा खानेपानी, सरसफाइ तथा स्वच्छतामा महिलाको अवस्था, विपद् व्यवस्थपन, खुला दिसामुक्तको दिगोपनका चुनौति र चाल्नुपर्ने कदमहरु, पूर्ण सरसफाइ प्रबर्द्वन लगायतका विषयमा गुणात्मक तथ्यांक समेत संकलन गरी वास योजनामा समावेश गरिएको इन्स्टिच्युटका प्रवन्ध निर्देशक द्रोणाचार्य पौडेलले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार