३० विद्यालयले अझै पाएनन् स्यानिटरी प्याडको रकम

जुम्ला : जुम्लाको तिला गाउँपालिकाका ३० वटा विद्यालयले विगत देखि पाउँदै आएको स्यानिटरी प्याड र दिवा खाजा बापतको रकम अझै पाएका छैनन् । गाउँँपालिकाको शिक्षा र लेखा शाखाको गैरजिम्मेवारीका कारण तेस्रो चौमासिकको रकम रोकिएको हो । दिवा खाजा कार्यक्रमको रकम विद्यालयको खातामा नआएपछि कार्यक्रम रोक्नु परेको तिलाका २७ वटा विद्यालय र तीन बालविकास केन्द्रले जनाएका छन् ।

अभिभावकले भने विद्यालय र शिक्षकले नै रोकेको जस्तो व्यवहार गर्न थालेको सेतिवाडा माध्यमिक बिद्यालयका प्रधनाध्यापक यज्ञप्रसाद अधिकारीले बताउनुभयो । ‘पालिकाले तिलाका सबै बिद्यालयको दिवा खाजा र स्यानिटरी प्याड बापतको रकम रोकेको छ’ उहाँले भन्नुभयो ।

रकम रोकिएका सबै बिद्यालयका प्रधानाध्यापकले यसको विरोध गरेका छन्। तर पालिकाको शिक्षा शाखा र लेखाले चेक नकाटेको प्रतिकिया दिएका छन् । उहाँका अनुसार सेतीवाडा बिद्यालयमा दुई सय ६ जना दिवाखाजा खाने बिद्यार्थी छन् । एक सय ९६ जना छात्रा छन् । यहाँ जम्मा तीन सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।

तिला गाउँपालिकाको शिक्षा शाखाका सहसंयोजक दिपेन्द्र हमालका अनुसार लेखाका कारण उक्त रकम रोकिएको हो । ‘हाम्रो शाखाले सबै विद्यालयको छात्रावृृत्ति, दिवा खाजा, विद्यालय सञ्चालन अनुदान, पाठ्यपुस्तक लगायतको रकम बारे प्रक्रिया पूरा गररे ७ असारमै लेखामा पठाएको हो ।’ उहाँले भन्नुभयो ।

तर लेखाले अन्य सबै शीर्षकको चेक काटेर दिवा खाजा र सेनेडरी प्याडको रकम भने रोकेको उहाँको भनाइ छ । उहाँका अनुसार तिलाका विद्यालयहरूले पाउने दिवा खाजाको ४७ लाख, पाँच हजार ६ सय ८० रुपैयाँ र स्यानिटरी प्याडको १७ लाख २९ हजार गरी ६४ लाख ३४ हजार ६ सय ८० रुपैया फ्रिज गरेको हो ।

शिक्षा शाखाका सहसंयोजक हमालका अनुसार गत वर्ष अपुग छात्रावृत्तिको रकम पालिकाले थपेको थियो । यही कारण महालेखा परीक्षकको कार्यालयले २४ लाख बेरोजु देखाएको थियो । यही रकम असुल गर्न रकम नपठाएको हुनसक्ने उहाँले बताउनुभयो ।

तिला गाउँपालिका–५ का पूर्व वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय सरकारले यो कार्यक्रम आफै लागु गर्नुपर्नेमा आएको रकम समेत रोक्नु गलत भएको बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार