झापा : झापाको दमकमा रहेका सार्वजनिक शौचालयहरूको प्रयोग निःशुल्क गर्ने निर्णय कुरामे मात्र सीमित भएको छ । दमक नगर सभाले सार्वजनिक शौचालयहरू प्रयोग गर्दा शुल्क तिर्नु नपर्ने निर्णय गरेको भएपनि यसको कार्यान्वयन भएको छैन।
डेढ महिना अघि नगर सभामा प्रमुख विषयकै रूपमा सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क तिर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ भनेर नगर सभा सदस्यहरूले कुरा उठाएपछि नगर सभाले सोही दिनदेखि लागू हुने गरी उक्त कुरा पास गरेको थियो। बसपार्क आसपासको क्षेत्रमा खुला शौच भएर फोहोर भएको देखेपछि हामीले यो माग गरेका हौँ र यो कार्यान्वयन हुनुपर्छ, दमक वडा नं। ६ का वडा सदस्य कमल श्रेष्ठले भन्नुभयो।
बसपार्कभित्रको टर्मिनलमा भेटिनु भएका यातायात व्यवसायी गङ्गा सिटौलाका अनुसार नगरपालिकाले निःशुल्क भनेर पनि बसपार्कभित्रका दुईवटै सार्वजनिक शौचालय प्रयोगका लागि पैसा तिर्नुपर्छ।
नगरपालिकालाई भने कहाँ कहाँ सार्वजनिक शौचालय छन् र त्यहाँ कति शुल्क उठाइन्छ भन्ने समेत अहिलेसम्म पत्तो छैन।
दमकको बसपार्क क्षेत्रमा एउटा भर्खरै सञ्चालन गरिएको नयाँ र अर्को पुरानो सार्वजनिक शौचालय छ। तीन वर्षका लागि भनेर एउटा पुरानो सार्वजनिक शौचालय नगरपालिकाले ठेक्का दिए पनि अरु कुनै सार्वजनिक शौचालय कसैलाई ठेक्का दिइएको छैन। ठेक्का नै नलागेको शौचालयमा पैसा उठाइरहँदा समेत कसैले आवाज उठाएको पाइन्न।
शौचालय प्रयोगमा महिलालाई विभेद
तर नयाँ बसपार्कको शौचालय र दमकको सब्जी बजारभित्र रहेको सार्वजनिक शौचालयमा अहिले पनि शौच गरेको महिलाले १० रुपियाँ र पुरुषले पाँच रुपियाँ तिर्नुपर्ने अवस्था छ।
बसपार्कको नयाँ सार्वजनिक शौचालयमा पैसा उठाउन बसेका व्यक्तिले महिलाले धेरै फोहोर गर्ने भएकाले १० रुपियाँ र पुरुषले कम फोहोर गर्ने गरेकाले पाँच रुपियाँ लिने गरेको बताएका छन्।