
काठमाडौ : भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु तथा धोबीघाट फोहोरपानी प्रशोधन केन्द्र निर्माणको ठेक्का सम्झौता रद्द गरिएको छ । पाँच पटक सम्म केयूकेएलको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले म्याद थप गर्दा पनि निर्माण सम्पन्न नगरेपछि सम्झौता रद्द गरिएको केयूकेलका आयोजना कार्यान्वयन इकाइका उपनिर्देशक चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार फोहोर पानी प्रशोधन केन्द्र निर्माणका लागि चीनको साफबोन वाटर सर्भिस (होल्डिङ) इन्कसँग बीडीओ मोडलमा सम्झौता गरेको थियो । तर उक्त सम्झौता अनुसार काम नगरेपछि ठेक्का रद्द गरिएको हो । उक्त कम्पनीले करिब २७ प्रतिशत मात्रै काम गरेको थियो ।
२ वर्ष ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म सञ्चालन गर्ने गरी सन् २०१७ को जनवरीमा सम्झौतामा भएको थियो । केन्द्र निर्माणका लागि पीआईडीले ३ अर्ब ९२ करोड रुपैयाँमा उक्त कम्पनीसँग सम्झौता गरेको थियो । प्रशोधन केन्द्रको बाँकी निर्माण कार्य नयाँ ठेक्का प्रक्रियाबाट अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यी प्रशोधन केन्द्रका क्षमता प्रतिदिन ५ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्ने उल्लेख छ ।
समयमा नै प्रशोधन केन्द्र निर्माण कार्य सम्पन्न हुन नसक्नुमा ठेक्का सम्झौता गर्दा कम मूल्यमा कबुल गर्ने परिपाटी रहेको उपनिर्देशक श्रेष्ठले बताउनुभयो ।
यस्तै धोबीघाटमा ३ करोड ७० लाख लिटर क्षमताको प्लान्ट निर्माण सम्पन्न हुने क्रममा छ । यो वर्षको डिसेम्बरमा निर्माण सम्पन्न हुने आयोजना निर्देशनालयले जनाएको छ । डीबीओ (डिजाइन, बिल्ट र ओपरेट) मोडलमै चिनियाँ कम्पनी सीजीसीओसी र अटल जेबीलाई पीआईडीले ठेक्का दिएको हो ।
यो परियोजना पूर्ण रुपमा कार्यान्वयनमा जाँदा धोबीखोला करिडोरको ढल व्यवस्थापन केही हदसम्म कम हुने उहाँले बताउनुभयो । धोबी खोला क्षेत्रमा सिधै जडान भएका ढल व्यवस्थापनका लागि आयोजनाले ‘इन्टरसेप्टिङ सिवर’ निर्माण गरेको छ ।
धोबीखोलाको करिडोरको दुवै क्षेत्रमा सिवर निर्माण गरेर बस्तीबाट आउने ढललाई धोबीघाटमा निर्माणाधीन रहेको प्रशोधन केन्द्रमा लगिने तयारी छ । यसलाई एकीकृत प्रणालीमा लगेर ढललाई सिधै प्रशोधन केन्द्रमा पुर्याइने उपनिर्देशक श्रेष्ठले बताउनुभयो ।


802 पटक हेरिएको 

