स्वास्थ्य संस्था सञ्चालक तथा प्रमुखहरुसँग सरसफाइ सम्बन्धी छलफल

  भीष्म लोध, नेपालगञ्ज  487 पटक हेरिएको

नेपालगञ्ज : नेपालगञ्जमा रहेका स्वास्थ्य संस्थाहरुमा सरसफाइ (वास) मा थप सुधार हुने अपेक्षा सहित स्वास्थ्य संस्थाका सञ्चालक तथा प्रमुखहरु सँग छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्था, क्लिनिक तथा अस्पतालमा सरसफाइ (वास) को अवस्थामा सुधार हुने उद्देश्यले अस्पताल तथा स्वास्थ्य संस्था प्रमुखहरु बीच छलफल गरिएको हो ।

छलफलमा नेपाल सरकारको नीति निर्देशिका, मापदण्ड सरसफाइ (वास) सँग सम्बन्धित प्रयोगकर्तामैत्री चर्पी व्यवस्थापन, साबुन पानी सहितको हातधुने स्थानको व्यवस्थापन, महिनावारी स्वच्छता व्यवस्थापन, स्वास्थ्यजन्य फोहोर वर्गीकरण, व्यवस्थापन, नीजि क्षेत्रलाई पनि फोहोर निर्मुलीकरण व्यवस्थापन बारे तालिम प्रदान गर्नुपर्ने जस्ता कुराहरुमा गहन रुपमा छलफल गरिएको थियो ।

कार्यक्रममा भेरी अस्पताल नेपालगञ्जकी नर्सिङ प्रशासक आशा पन्थले स्वास्थ्यजन्य सबै खाले फोहोर एउटैमा मिसाउने कार्यलाई कम गर्नुुपर्ने बताउनुभयो । उहाँले सबै क्षेत्रमा यस्ता कुराहरुमा ध्यान पुर्‍याउने हो भने पनि संक्रमणलाई कम गर्न सकिने बताउनुभयो ।

यस्तै एच सी आर सी अस्पताल नेपालगञ्जका व्यवस्थापक रमेश सिटौलाले फोहोर व्यवस्थापन सम्बन्धमा उपमहानगरपालिकाले सबै स्वास्थ्य संस्थालाई एउटै फ्लोरमा ल्याउनुपर्ने बताउनुभयो । मासिक रुपमा बैठक बस्ने र स्वास्थ्य क्षेत्रको सुधारका लागि योजना बनाउन आवश्यक रहेको व्यवस्थापक सिटौलाको धारणा थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले सबै क्षेत्रबाट निस्कने फोहोरलाई त्यसको प्रकृति अनुसार छुट्याउन सक्नुपर्ने बताउनुभयो । उहाँले यो प्रक्रियालाई अवलम्बन गर्न नसकिए नेपालगञ्जमा निर्माण भएको ल्याण्डफिल साईट छिट्टै भरिने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा सहकार्यमा एस.एन.भी नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले सञ्चालन गरेको स्वास्थ्य र बिकासका लागि नगर सरसफाइ तथा स्वच्छता परियोजना मार्फत गरिएको छलफलमा उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, एस.एन.भी नेपालका सहरी अधिकृत सुरज राजभण्डारी, गेरुवाका परियोजना संयोजक गफ्फार अलि शेष लगायतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार