फोहोर छुट्याएर सङ्कलन गर्दै चन्द्रागिरि

 336 पटक हेरिएको

काठमाडौ : कुहिने र नकुहिने फोहोर गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहोरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ । नगरवासीलाई घरबाट निस्किने फोहोरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अलग–अलग झोला वितरण गरिनेछ ।

नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहोरको परिमाण उल्लेख्य रुपमा घटाउन र बाँकी फोहोर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो ।

यस अन्तर्गत नगरवासीलाई हरियो, रातो, कालो, सेतो, नीलो र पहेँलो गरी छ प्रकारका झोला वितरण गरिनेछ । साथै उनीहरूलाई हरियो झोलामा तरकारी लगायतका खाद्यपदार्थबाट निस्किएका फोहोर राख्न भनिने छ । सम्भव भएसम्म हरियो झोलामा सङ्कलन हुने फोहोरबाट मल बनाउन उत्प्रेरित गर्ने नगरपालिकाको अवधारणा छ ।

यसैगरी, रातो रङको झोलामा सिसा र सिसाजन्य फोहर राख्न र त्यसलाई आफैँले कवाडीमा बेच्न प्रेरित गरिनेछ । कालो झोलामा प्लास्टिक र प्लास्टिकजन्य फोहोर राख्ने र त्यसलाई पनि नगरवासी आफैँले बेच्नका लागि प्रेरित गरिनेछ । सेतो झोलामा कागज र कागजजन्य फोहोर थुपार्ने र त्यसलाई समेत कागज पुनः प्रयोग गर्नेलाई बेच्नका लागि प्रेरित गरिने छ ।

फलाम र कवाडी जन्य अन्य सामान थुपार्न निलो रङको झोला उपलब्ध गराइनेछ । त्यसलाई पनि नगरवासी आफैँले बेच्न सक्नेछन् । यसैगरी, व्यक्तिगत तवरमा व्यवस्थापन गर्न नसकिने स्यानिटरी प्याड, डाइपरआदि फोहरलाई पहेँलो झोलामा सङ्कलन गर्न प्रेरित गरिने छ ।

“कुहिने फोहोरमा माटो र धानका भुस र बिरुवाका पात राखेर नगनाउने गरी मल बनाउन सकिन्छ”, नगरपालिकाबाट तयार गरिएको सन्देशमा उल्लेख छ । यसका साथै फोहरलाई सङ्कलक नआएको बेला घरभित्र राख्न र सङ्कलक आएको बेलामा मात्र बाहिर निकाल्न पनि नगरपालिकाले आह्वान गरेको छ ।

“कुहिने फोहोर मलका रूपमा र नकुहिने फोहोर पैसाका रूपमा नगरवासीलाई नै फिर्ता दिने उद्देश्यले यो कार्यक्रम गर्न लागेका हौँ”, प्रमुख गिरीले भन्नुभयो ।

फोहरको प्रकृति अनुसार छुट्याउनका लागि झोला मात्र वितरण नगरी कुन दिन कुन टोलमा छ वटा मध्ये कुन प्रकारको फोहोर उठ्छ भन्ने समेत तय गरिनेछ र नगरवासीलाई यसै अनुसार सूचना दिइने नगरपालिकाकी विपद व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिका भित्र कूल छ वटा संस्थाले फोहोर सङ्कलन गरिरहेका छन् । तिनलाई पनि निश्चित बार निश्चित प्रकारको फोहोर मात्र उठाउने गरी प्रशिक्षित गरिनेछ ।

घरको फोहोर त्यसको प्रकृतिअनुसार अलग–अलग भाँडामा सङ्कलन गर्ने बानी लगाउन यसो गरिएको नगरप्रमुख गिरी बताउनुहुन्छ । अहिले प्लास्टिकको झोलामा अलग–अलग फोहोर सङ्कलन गर्न लगाउने र पछि बिस्तारै भाँडा उपलब्ध गराउने  नगरपालिकाको सोचाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार