
बागलुङ : डेढ दशकसम्म कालीगण्डकी नदीमा फोहोर फालेको बागलुङ नगरपालिकाले अदालतको आदेशपछि ठाउँ फेरेर यहाँको काठेखोला किनारमा फाल्न थालिएको छ । अस्थायी रूपमा फोहोर फाल्न थालेको दशक बित्दा पनि नगरले अझै व्यवस्थित ल्यान्डफिल साइट भने बनाउन सकेको छैन ।
पछिल्लो दशकदेखि नगरपालिकाले फेरि कालीगण्डकी करिडोर रहेको वडा १ को खुर्तुर्केमा फाल्न थालेको थियो । यो स्थान फोहोर भरिएर दुर्गन्धित भइसकेको छ । तर व्यवस्थित ल्यान्डफिल्ड साइट बनाउने योजना अगाडि बढ्न नसकेको हो ।
कहिले बजेट अभाव, कहिले स्थानीयको सहमति नभएको बहाना तथा कहिले डीपीआर बनाउने भन्दै काम अगाडि नबढेको हो । फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइट बनाउने योजना बनाएर पनि कार्यान्वयन नगर्दा सडकमा यात्रा गर्नेले दुर्गन्ध व्यहोरेको गुनासो गरे । हाल फोहोर फालिएको स्थानबाट कालीगण्डकी करिडोर र मालढुंगा कुस्मिसेरा सडकमा नियमित सवारी गुड्छन् । तर हरेक यात्रीले दुर्गन्धको सास्ती खेपेको गुनासो गर्न थालेका छन् ।
अहिले पनि बजेट अभावमा त्यो काम अलपत्र भएको नगरपालिकाको भनाइ छ । वरिपरि पर्खाल लगाएर फालिएको फोहोरले भरिएपछि स्थायी ल्यान्डफिल्ड साइटको माग बढेको छ । नगरपालिकाले वार्षिक ५० लाख रुपैयाँमा उक्त फोहोरबाट नकुहिने वस्तुको निकासी ठेक्का लगाउने गरेको छ । स्थायी ल्यान्डफिल निर्माण नहुन्जेलका लागि भन्दै फालिए पनि अर्को व्यवस्था अझै अन्योल भएको हो । दस वर्षअघि नै २ करोड लागतमा बनाउने भनिएको स्थायी ल्यान्डफिलको डिजाइन भई सहयोगका लागि स्थानीय विकास मन्त्रालयमा माग भएको थियो ।
तत्कालीन फोहोर व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले रकम उपलब्ध गराउने भनिए पनि स्वीकृत नभएपछि थप काम अगाडि नबढेको हो । स्थानीय सरकार आए पनि योजना अगाडि बढाउन चासो नदिएको स्थानीयको गुनासो छ । ‘व्यवस्थित फोहोर व्यवस्थापन र ढल निकासको योजना बनाएका छौं, तर डीपीआरमा फरक परेकाले संशोधनमा गएको छ,’ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘सफा नगर बनाउने काममा अगाडि बढेका छौं ।’
हरेक वर्षको नीति तथा कार्यक्रममा पनि फोहोरको दिगो व्यवस्थापनको कार्यक्रम राखिने गरिएको छ । डिजाइन अनुसारको साइट निर्माण भएमा ११ रोपनीमा फोहोर व्यवस्थापन हुनेछ । २०६६ मा खरिद गरेको जग्गालाई अझै व्यवस्थापन गर्न नसकेको स्थानीयले आरोपसमेत लगाए । फोहोर फालेपछि डढाउने गरिएकाले पटक पटक बागलुङ कालिका भगवती मन्दिर आसपासको जंगलमा आगलागी समेत भइरहन्छ । कान्तिपुर दैनिकबाट ।


529 पटक हेरिएको 

