धनुषा : बर्ष दिन अघिसम्म कपडाको प्याडको बारेमा सुन्दै नसुनेकी जनकपुरधाम उपमहानगरपालिका – १४ की मरियम खातुन हिजो आज माध्यमिक तहका छात्राहरुलाई स्यानिटरी प्याड बनाउन सिकाउनुहुन्छ । ‘महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम’मा स्यानिटरी प्याड बनाउने सीप सिकेपछि उहाँले प्याड सिलाउने कलाको विकास गर्नुभएको हो ।
युनिसेफको सहयोगमा मधेस प्रदेशमा सञ्चालित ‘क्यास प्लस कार्यक्रम’ अन्तर्गत Noble Compassionate Volunteers (एन.सी.भी.) ले कोभिड-१९ प्रभावित समुदायलाई लक्षित गरी खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्द्वन सँगै सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गरेको थियो ।
एनसीभीका कार्यक्रम व्यवस्थापक सागर शाही ठकुरीका अनुसार ‘महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी पाँच दिने तालिम’ का सहभागी मध्ये एक हुनुहुन्थ्यो ‘मरियम खातुन’ । स्नातक प्रथम बर्षमा अध्ययनरत मरियमले धनुषाका ६ वटा विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई प्याड बनाउने तालिम दिईसक्नु भएको छ ।
युनिसेफ नेपालको सहयोगमा मधेस प्रदेशको विभिन्न विद्यालयमा सञ्चालित खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम अन्तर्गत महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी छात्राहरुलाई दिईने तालिममा एन.सी.भी.ले मरियम खातुनलाई नै स्रोत व्यक्तिको रुपमा खटाउने गरिएको छ ।
मरियमलाई एउटा प्याड सिलाउन १० मिनेट भन्दा बढी समय लाग्दैन । खररर मेसिन चलाउन निपुण भैसक्नु भएकी मरियम तपाई हामीलाई पनि स्यानिटरी प्याड बनाउन सिकाउँदै हुनुहुन्छ ।
हेर्नुहोस् यो भिडियो :
एन.सी.भी.ले कोभिड प्रभावित परिवारहरुको पहिचान गरी पाँच वटा नगरपालिकाहरुको समन्वयमा प्लम्बर, मेसनरी र इलेक्ट्रिसियन तालिम समेत सञ्चालन गरेको थियो । ती तालिमहरुले खानेपानी, सरसफाइ र स्वच्छताको प्रबर्द्वन गर्नुका साथै कोभिडबाट प्रभावित परिवारको जीविकोपार्जनमा समेत सघाउ पुगेको एनसीभीका कार्यक्रम व्यवस्थापक सागर शाही ठकुरीले बताउनुभयो ।


864 पटक हेरिएको 

