काठमाडौ : कोरियाले खानेपानी र सरसफाइको क्षेत्रमा प्रयोग गर्दै आएको ‘स्मार्ट वाटर म्यानेज्मेन्ट सिस्टम’ नेपालमा पनि भित्र्याईने भएको छ । ‘Symposium on Water Management Issues in Nepal: Smart Water Management and Its Application’ बिषयक गोष्ठीमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिषयगत विज्ञहरुले कोरियामा लागु गरिएको ‘स्मार्ट वाटर म्यानेज्मेन्ट’ नेपालमा भित्र्याउन सक्दा शहरी क्षेत्रले भोगिरहेको अहिलेको समस्या समाधानमा टेवा पुग्ने बताए ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग, धुलिखेल नगरपालिका, नगर विकास कोष र कोरियाली संस्था KK Smart Ways को समन्वयमा कोरियाको International Center for Urban Water Hydro informatics Research and Innovation (ICUH) र नेपालको स्मार्ट वास सोलुसनले संयुक्त रुपमा आयोजना गरिएको गोष्ठीमा स्मार्ट वास सोलुसनका अध्यक्ष ई.रामदिप शाहले नेपालमा परम्परागत रुपमा सञ्चालित खानेपानी प्रणालीबाट वितरित खानेपानीको सेवास्तर सन्तोषजनक नभएको, पानीको चुहावट प्रशस्त मात्रामा भएकोले नेपालमा पनि विश्वस्तरको प्रविधिको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले यस्ता खालको गोष्ठीबाट प्रविधिबारे जानकारी हुने र वास सेक्टरमा नेपाल र कोरिया बीच नेटवर्किङ स्थापित हुनाका साथै नेपाली विशेषज्ञ तथा प्रविधिको क्षमता विकास हुने बताउनुभयो । कोरियामा विकसित प्रविधिको उपयोगबाट नेपालको खानेपानी र सरसफाइ क्षेत्रको दिगो विकास तथा प्रणालीलाई स्मार्ट बनाउन सकिनेमा दुईमत नरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक ई.रामकुमार श्रेष्ठले कोरिया भ्रमणकै क्रममा प्राध्यापक गइऊन् चोईलाई भेटेको स्मरण गर्दै कोरियाको प्रविधि नेपालमा भित्र्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले कोरियाको एउटा नदीको उदाहरण दिदै वाग्मतीलाई समेत त्यस्तै बनाउन सकिन्छ कि भनेर बर्षौ पहिले कोरियाको अध्ययन भ्रमण गरिएको बताउनुभयो ।
उपमहानिर्देशक श्रेष्ठले नेपालमा हिउँदको समयमा पानीको समस्या हुने र बर्षातको समयमा पानीबाटै समस्या झेल्नुपर्ने वर्तमान अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव एवं प्रवक्ता शोभाकान्त पौडेलले नेपालको शहरी क्षेत्रमा खानेपानीको सहज आपूर्ति गर्ने काम निक्कै चुनौतीपूर्ण भईसकेको बताउनुभयो । माग र आपूर्तिको सन्तुलनबाट मात्र यो समस्या समाधान हुने र यसका लागि स्मार्ट प्रविधि नै आवश्यक रहेको उहाँको भनाइ थियो ।
धेरै पटक कोरियाको भ्रमण गर्दा त्यहाँको प्रविधिको बारेमा आफू जानकार रहेको उल्लेख गर्दै प्रवक्ता पौडेलले जापान तथा कोरिया जस्ता विकसित राष्ट्रमा विकसित प्रविधिलाई नेपालमा अवलम्बन गर्नुपर्ने र मन्त्रालयले पूरा गर्नुपर्ने भूमिकामा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गोष्ठीमा इन्चेन नेसनल युनिभर्सिटी कोरियाका प्रोफेसर दोङओ जाङले स्मार्ट वाटर म्यानेज्मेन्ट र नेपालमा यसको प्रयोगका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । यस्तै काठमाडौ उपत्यका खानेपानी लिमिटेडमा स्मार्ट वाटर म्याजेन्मेन्टको अवस्था, चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्यहरु, कोरियाको इन्चोन महानगरपालिकामा ढल सम्बन्धी सेवा र यसको सञ्चालन, काठमाडौ उपत्यकामा फोहोरपानी ब्यवस्थापनको अवस्था र चुनौती र नेपालमा मानव मलमूत्र व्यवस्थापनको अवस्था र चुनौतीहरु लगायतका बिषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।