सडकमा फोहोर गरे बापत एनआइसी एसिया बैंकलाई तेस्रो पटक कारवाही, ११ हजार जरिवाना

  वास खबर सम्वाददाता  444 पटक हेरिएको

वीरगंज : वीरगंज महानगरपालिकाले एन आइ सी एसिया बैंकको वीरगंज शाखालाई सडकमा फोहोर फाले बापत जरिवाना गरेको छ । महानगरको निर्णय अटेर गर्दै फोहोर फालेको आरोपमा एन.आई.सी. एसिया बैंकलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको हो । बीरगञ्ज महानगरलाई स्वच्छ सफा बनाउने अभियान चलिरहेको छ । तर महानगरले पटक(पटक चेतावनी दिँदा समेत सडकमा फोहोर फाल्ने क्रम अन्त्य नभएपछि जरिवाना गरिएको छ ।

महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरिसकेको अवस्थामा पुनः एन आई सी एसिया बैंकले अटेरी गर्दै सडकमा फोहोर फालेपछि ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको वीरगंज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिनुभयो।

फेरि पनि फोहोर फालेको भेटिएमा २५ हजारदेखि २ लाखसम्म जरिवाना असुल गरिने वीरगंज महानगरपालिकाले जनाएको छ ।

महानगरले विगत एक साता यता नगर क्षेत्र भित्र जथाभाबी फोहोर फाल्ने झण्डै २ सय भन्दा बढीलाई जरिवाना सहित कारबाही गरेको छ । महानगरपालिकाले जथाभावी फोहोर गर्ने लाई कारबाहीबाट १ लाख ५८ हजार रुपैयाँ संकलन गरेको छ । महानगरले पुस १७ देखि सडकमा जथाभावी फोहोर फाल्नेलाई कारबाही थालेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार