यार्सागुम्बा पाईने क्षेत्र फोहोरले भरिएपछि सफाइ अभियान, यार्सा पाटनबाट ७८ क्वीन्टल फोहोर संकलन

  वास खबर सम्वाददाता  450 पटक हेरिएको

डोल्पा : यार्सागुम्बा जोगाउन डोल्पाका पाटनबाट फोहोर संकलन गरिएको छ । वर्षौंदेखि यार्सागुम्बा संकलनकर्तादेखि पशुचौपाया लिएर पाटनमा गएकाले फोहोर गरेपछि पाटनहरू सफा गरिएको हो ।

यार्सा संकलन कार्य सुरु भएदेखि प्लास्टिक, सिसा, कपडा र पेय पदार्थका बोत्तलले उच्चहिमाली पाटनहरू भरिभराउ भएको थियो । यार्सागुम्बा पाइने करिब एक हजार पाटन छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार पाटनहरू फोहोरले भरिएपछि केही वर्षयता यार्सागुम्बा लोप हुन थालेको छ । डोल्पा देशमै सबैभन्दा उच्च गुणस्तर र धेरै परिमाणमा यार्सागुम्बा पाइने जिल्लाका रूपमा चिनिन्छ ।

डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका एक दर्जन यार्सागुम्बा पाटनका २० प्रतिशत क्षेत्रबाट ७८ क्विन्टल फोहोर जम्मा भएको छ ।

कुनै बेला एक दिनमा चार–पाँच हजार वटासम्म पाइने यार्सा अहिले मुस्किलले दिनमा चार–पाँच वटाभन्दा धेरै नपाइने ठूलीभेरी नगरपालिका लिकुका हरि खत्रीले बताए । डोल्पा, जाजरकोट, रुकुम पश्चिम र जुम्लाका सर्वसाधारणका लागि आम्दानीको मुख्य स्रोतका रूपमा रहेको यार्सा फोहोरका कारण लोप हुन थालेपछि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, विश्व वन्यजन्तु कोष, मध्यवर्ती समिति, आमा समूह र स्थानीय सरकार संरक्षणमा जुटेको छ ।

पर्यटकीय नगरीको रूपमा रहेका पाटनहरूमा फोहोर बढेपछि घाँस उत्पादनमा समेत कमी आउँदा नाबर, झारल, घोरल, कस्तुरीजस्ता संरक्षित हिमाली जनावर पनि आहारको अभावमा लोप हुने खतरा बढेको निकुञ्जले जनाएको छ । हिउँ चितुवाको मुख्य आहारा रहेको नाबर खतरामा परेपछि त्यसको असर हिउँ चितुवामा समेत पर्न जाने निकुन्जको भनाइ छ । डोल्पामा हिउँ चितुवा पाइने गर्दछ ।

त्यस्तै शे–फोक्सुण्डो तालसमेत रहेको छ । छिनभरमा रूप फेर्ने यो ताल फोक्सो आकारमा रहेका कारण फोक्सुण्डो रहन गएको मान्यता छ । अग्लो उचाइमा रहेको यो ताल सबैको रोजाइमा पर्ने गरेको छ । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत दुई सय प्रजाति पंक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ ।

यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

यार्सा पाटनबाट ७८ क्विन्टल फोहोर संकलन

डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका एक दर्जन यार्सागुम्बा पाटनका २० प्रतिशत क्षेत्रबाट ७८ क्विन्टल फोहोर जम्मा भएको छ । वर्षेनी जम्मा भइरहेको फोहोरले आर्थिक, सामाजिक, वातावरणीय र पर्यटकीय क्षेत्रलाई गम्भीर असर पारेपछि अघिल्लो आर्थिक वर्षदेखि अभियानै चलाएर फोहोर जम्मा गर्न थालिएको विश्व वन्यजन्तु कोष डोल्पाका प्रतिनिधि चन्द्रजंग हमालले बताए ।

“जिल्लावासीको आयस्रोत मात्रै कम भएको छैन, वातावरणीय प्रदूषण उत्तिकै बढेको छ, फोहोरका कारण हिमाली पारिस्थितिक प्रणालीमा समेत असर पर्न थालेको छ । समयमा पानी, हिउँ पर्दैन । निकुञ्जभित्रका संरक्षित वन्यजन्तुहरूलाई आहाराको अभावसमेत हुन थालेको छ,” उनले भने । अघिल्लो वर्षबाट हालसम्म ७८ क्विन्टल फोहोर संकलन गरेर काठमाडौं पठाइएको छ ।

“सकारात्मक सन्देश प्रवाह गराउन अघिल्लो आर्थिक वर्षमा ७८ क्विन्टल फोहोर जम्मा गरेर मालबाहक ट्रकमा काठमाडौं पठाइएको छ,” हमालले भने, “भक्तपुरस्थित डोको रिसाइक्लर्ससँग सम्झौता भएअनुसार प्रशोधनका लागि काठमाडौं पठाइएको हो ।” फोहोर सकंलन कार्यलाई प्रभावकारी बनाउनका लागि यहाँका सबै स्थानीय तहसमेत सक्रिय हुनुपर्ने माग उठेको छ । हेमन्त केसीले डोल्पाबाट लेख्नुभएको यो खबर कारोबार दैनिकले प्रकाशन गरेको छ ।

अहिले दुईवटा पालिकाभित्रका पाटनको मात्र फोहोर संकलन गरिए पनि बाँकी ठाउँको फोहोर संकलनको काम बाँकी छ । उपल्लो डोल्पादेखि मुड्केचुला, जगदुल्लाका पाटनमा समेत फोहोर संकलन कार्य भएको छैन । निकुन्ज मात्र होइन, सदरमुकाम दुनैमा जथाभावी फोहोर फाल्दा भेरी नदी नै फोहोर हुने गरेको छ । पाटन क्षेत्रमा सवार सबैले प्लास्टिकजन्य फोहोर लैजान प्रतिबन्ध लगाउनु पर्नेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार