बहिनीको लागि स्यानिटरी प्याड किनिदिने दाई (भिडियो)

  वास खबर सम्वाददाता  653 पटक हेरिएको

जनकपुरधाम : उहाँलाई महिनावारी भएकै थिएन । दिदीको महिनावारी भईसकेछ भन्ने कुरा पनि उहाँलाई थाहा थिएन । तर महिनाको २५ दिन गर्ने व्यवहार एउटा र बाँकी पाँच दिन दिदीले गर्ने व्यवहार अर्को देखेपछि उहाँलाई निक्कै अचम्म लाग्थ्यो । उहाँको मनमा जहिल्यै उब्जिने प्रश्न हुन्थ्यो कि ‘यी दिदी किन बाबाको नजिक नजानु भएको होला ? किन भान्छामा काम नगर्नुभएको होला ?’

तर पछि बुझ्दै जाँदा बल्ल थाहा पाउनुभयो कि महिला भएपछि महिनावारी हुँदोरहेछ । अनि महिनावारी भएको समयमा फरक व्यवहार हुँदो रहेछ । ‘दिदीले महिनावारी भएको समयमा केही छुवाछुत सहनु परे पनि मैले सहनु परेको छैन, मलाई त कत्तिपटक दाईले नै स्यानिटरी प्याड किनेर ल्याईदिनुहुन्थ्यो’ किनकि महिनावारी छुवाछुतको बिषय होइन भन्ने कुरा मेरो परिवारले बुझिसकेको थियो ।’ धनुषा, जनकपुरधामकी मरियम खातुनले महिनावारीका बारेमा खुलेर बोल्नुभयो ।

बहिनी महिनावारी हुँदा दाईले स्यानिटरी प्याड किनिदिने कुरा धेरैका लागि अनौठो बिषय बन्न सक्ला । तर मरियमको घरपरिवारले ‘महिनावारी’ प्राकृतिक प्रक्रिया हो भन्ने राम्ररी बुझेका छन् । घरको कोही सदस्यलाई टाउको दुख्दा अर्को सदस्यले औषधी किनेर ल्याए झैं महिनावारी हुँदा प्याड किनेर ल्याईदिने कुरा जो कोहीको लागि सामान्य बिषय हो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

गत बर्ष युनिसेफ नेपालको आर्थिक सहयोगमा एन.सी.भी.नेपालले आयोजना गरेको ‘महिनावारी स्वच्छता व्यवस्थापन’ सम्बन्धी तालिममा भाग लिएपछि त मरियम पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड सिलाउन सक्षम हुनुभएको छ । केही समय व्यवसायिक रुपमै मास्क र प्याडको उत्पादन थाल्नुभएकी मरियम अहिले पनि आफैले सिलाएको प्याड प्रयोग गर्नुहुन्छ ।

स्नातक तहमा अध्ययनरत मरियम महिनावारी स्वच्छता व्यवस्थापनका बिषयमा सहजीकरण पनि गर्नुहुन्छ । एन.सी.भी.नेपालको समन्वयमा उहाँले जनकपुरका विभिन्न विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत किशोर किशोरीहरुलाई महिनावारी व्यवस्थापन सम्बन्धी सहजीकरण गरिसक्नु भएको छ ।

महिनावारीलाई मर्यादित बनाउने हो भने महिनावारीको बिषयलाई लाज, घीन मान्ने प्रबृत्ति पनि हट्ने र महिनावारीको समयमा किशोरीहरुले झेल्नुपर्ने अनावश्यक शारीरिक तथा मानसिक कष्टको पनि अन्त्य हुने उहाँको भनाइ छ । उहाँको आग्रह छ ‘मैले त महिनावारीलाई मर्यादित बनाएको छु, म जस्तै साथीहरुले पनि मर्यादित बनाओस्’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार