बोली नआउने मनिका, सिकाउँछिन् कुरा महिनावारीका

सात जनाको परिवारमा आमा र एक जना दिदी बाहेक सबै अपाङ्ग

  विनोद धौलागिरि, उर्लाबारी (मोरङ)  771 पटक हेरिएको

उर्लाबारी–७ मोरङकी २७ वर्षीया मनिका कार्की बोल्न सक्नुहुन्न । १२ कक्षा पास गरेकी मनिका घरमा होस् या छिमेकमा, सबै काम चुपचाप गरिरहनुहुन्छ । अलिक चर्को स्वरमा बोलाउँदा समेत उहाँले ज्यादै कम मात्र सुन्नुहुन्छ । उहाँले नेपालीमा बोलेको बुझ्नुहुन्छ, तर नेपालीमा लेखेको त्यति राम्ररी बुझ्नुहुन्न, बरु अंग्रेजीमा लेखेको बुझ्नुहुन्छ र आफ्नो विचार सांकेतिक रुपमा व्यक्त गर्नुहुन्छ ।


उहाँको सात जनाको परिवारमा उहाँको आमा र एक जना दिदी बाहेक सबै अपाङ्ग हुनुहुन्छ, अझै एक जना दिदी त न बोलचाल गर्न सक्नुहुन्छ न हिडडुल नै । तर, मनिकामा भने पढ्ने, सिक्ने र अरुका लागि समेत केही गर्ने हुटहुटी छ ।

आइतबार कार्की उर्लाबारीमा महिलाहरुले सेनिटरी प्याड बनाउँदै गरेको स्थानमा भेटिनुभयो । उर्लाबारी नगरपालिका वडा नं. ७ ले आयोजना गरेको पुनः प्रयोग गर्न मिल्ने कपडाको सेनिटरी प्याड निर्माण तालिममा उहाँले सेनिटरी प्याड बनाउन मात्र सिक्नु भएन, अरु सहभागीलाई समेत रुचीका साथ सिकाउनुभयो ।

“उहाँले निकै अभिरुचिपूर्वक सिक्नुभयो, र अरुलाई सिकाउने कुरामा मलाई सहयोग समेत गर्नुभयो”, तालिम सहजकर्ता सुनिता तिवारी हुमागाई भन्नुहुन्छ, “हामीले बाहिरबाट हेर्दा उहाँ बोल्न र सुन्न नसक्ने देखे पनि उहाँमा सिक्न सक्ने र सिकाउन सक्ने अद्भूत खुवी छ ।”

सेनिटरी प्याड निर्माण तालिमको समापन कार्यक्रममा मनिकाले कार्यक्रमका प्रमुख अतिथि तथा वडाअध्यक्ष उर्मिला थापा र वडा सदस्य सन्तोष निरौलालाई आफूहरुले बनाएको सेनिटरी प्याड हस्तान्तरण गर्दै परिवारका महिला सदस्य र छिमेकी किशोरीहरुलाई समेत उपलब्ध गराउन आग्रह गर्नुभयो । “यो सिकेर हामीलाई निकै राम्रो लाग्यो । अब हामी आफै पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड घरमा नै बनाएर प्रयोग गर्छौं”, उहाँले सांकेतिक भाषामा भन्नुभयो, “अब अरु टोलका दिदीबहिनीहरुलाई समेत यस किसिमको तालिम दिनुपर्छ । तालिम भयो भने प्रशिक्षकलाई म पनि साथ दिन्छु ।”


यो सुनेर वडा अध्यक्ष थापा र वडा सदस्य निरौला समेत निकै उत्साहित हुनुभयो । “तपाईहरु आज जत्ति उत्साहित हुनुहुन्छ, यो उत्साह कायम राख्नुहोला”, वडा अध्यक्ष थापाले प्रतिवद्धता जनाउनुभयो “अब नयाँ वर्षका लागि योजना निर्माणको थालनी हुँदैछ, टोल र वडादेखि नै यहाँहरुले आफ्ना योजना समावेश गराउनुहोला, हामी पक्कै पनि अन्य क्षमता अभिवृद्धि र सामुदायिक विकासका कार्यमा वडाबाट सहयोग गर्छौं ।”

समापनकै अवसरमा वडा सदस्य निरौलाले सबै महिलालाई समेट्न सकिन्छ कि भन्ने लागेर आफूहरुले यस वर्षका लागि सेनिटरी प्याड निर्माण तालिमलाई वार्षिक योजनामा समावेश गरेको बताउनुभयो । पुनः प्रयोग गर्न मिल्ने कपडाको सेनिटरी प्याड निर्माणलाई व्यवसायिक बनाउँदै लैजाने हो भने समूहलाई सिलाइ मेसिन लगायतका अन्य उपकरणहरु वडाको तर्फबाट उपलब्ध गराउने समेत उहाँले बताउनुभयो ।


तालिम सहजीकरण गर्ने संस्था फच्र्युन नेपाल÷ओम साई टेक्निकल इन्स्टिच्युट प्रा.लि. का प्रवन्ध निर्देशक द्रोणचार्य पौडेलले यस स्थानका सहभागीहरुको लगनशीलता र अनुरोधलाई मध्यनजर गर्दै पाँच दिनको तालिममा एक दिन थप गरी कपडाको सेनिटरी प्याड बनाउन दक्ष बनाइएको बताउनुभयो ।
बोल्नै नसक्ने र मौन जीवन बाँचिरहेकी मनिकाले महिनावारी स्वच्छता व्यवस्थापनका लागि आफू समर्पित हुने प्रण गरिसक्नुभयो, अब तपाई हामी चाहिं कहिले ?

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार