काठमाडौ : खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ नियमावलीमा आफ्नो राय/सुझाव पठाउन आव्हान गरेको छ । मन्त्रालयले खानेपानी तथा सरसफाइसँग सम्बद्ध विभिन्न संघसंस्थालाई राय/सुझाव पेश गर्न परिपत्र गरिसकेको खानेपानी मन्त्रालयका उपसचिव ई.नारायण प्रसादआचार्यले जानकारी दिनुभयो । नियमावलीको मस्यौदा मन्त्रालयको वेभसाईटमा समेत राखिएको र अध्ययन गरेर आफ्नो रचनात्मक सुझाव पेश गर्न सकिने उपसचिव आचार्यले बताउनुभयो ।
‘नियमावली अध्ययन गरेर रचनात्मक राय सुझाव पेश गर्न सक्नुहुन्छ । सम्भव भएमा मन्त्रालयमा आफै उपस्थित भएर वा इमेल मार्फत पनि राय सुझाव पठाउन सक्नुहुनेछ’ उहाँले भन्नुभयो ।
मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्रीको संयोजकत्वमा गठित नियमावली मस्यौदा समितिले तयार पारेको खानेपानी तथा सरसफाइ नियमावली २०७९ लाई मन्त्रालय र मातहतको निकायले यस अघि नै बुँदागत रुपमा छलफल तथा आवश्यक संशोधन गरी अन्तिम रुप दिईसकेको छ ।
यस्तै खानेपानी र सरसफाइ नियमावली उपर व्यापक छलफल गरी सुझाव संकलन गर्ने उद्देश्यले मन्त्रालयले यही बुधबार परामर्श गोष्ठीको समेत आयोजना गरेको छ । गोष्ठीमा स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, सातै प्रदेश सरकारको खानेपानी मन्त्रालयका सचिवहरु, विकास साझेदार संघसंस्था, नागरिक समाज, गाउँपालिकाका तथा नगरपालिका महासंघ, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
उक्त छलफलमा संशोधनका लागि सुझाएका रचनात्मक राय/सुझावलाई समेत समावेश गरी खानेपानी तथा सरसफाइ नियमावलीको अन्तिम रुपमा तयार पारिनेछ ।
त्यसपछि अर्थ मन्त्रालय र कानुन मन्त्रालय पठाईनेछ । त्यहाँबाट पनि स्वीकृत भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाईनेछ । त्यहाँका विभिन्न समितिहरुबाट समेत अनुमोदन भएपछि स्वीकृतिका लागि मन्त्रीपरिषदमा पठाईनेछ । यी सबै प्रक्रिया पूरा गर्दा खानेपानी तथा सरसफाइ नियमावली अबको ३ /४ महिना भित्र जारी हुने उपसचिव आचार्यले बताउनुभयो ।
खानेपानी तथा सरसफाइ ऐन-२०७९, भने गत भदौ २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिसक्नु भएको छ । ऐन प्रमाणित भएको ३१ दिन पछि लागु हुने प्रावधान बमोजिम २०७९ असोज २१ गतेदेखि खानेपानी तथा सरसफाइ ऐन लागु भईसकेको छ । ऐनको प्रभावकारी कार्यान्वयनका लागि नियमावली निर्माण भईरहेको हो ।
हेर्नुहोस्, नियमावलीको मस्यौदा :


1486 पटक हेरिएको 

