काठमाडौ : एसियाली विकास बैंक (एडिबी) ले सहरी खानेपानी तथा सरसफाइ आयोजनालाई पुरस्कृत गरेको छ । एडिबीको सहयोगमा नेपालमा सञ्चालित परियोजनाका क्षेत्र तथा कार्य सम्पादन सम्बन्धी बैठक (कन्ट्री पोर्टफोलियो) बारे जानकारी दिन आयोजित दुई दिने कार्यक्रममा सहरी खानेपानी तथा सरसफाइ आयोजना सहित वाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजना लगायतलाई पनि पुरस्कृत गरिएको छ ।
एसियाली विकास बैंक (एडीबी) ले नेपालको खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षा, भौतिक पूर्वाधार लगायत क्षेत्रमा लगानी गर्दै आएको छ । एडिबीले सन् २०२२ सम्ममा उक्त क्षेत्रमा करिब ४ खर्ब २० अर्ब रुपैयाँ (३.२ बिलियन अमेरिकी डलर) बराबरको लगानी गरेको जनाएको छ ।
कार्यक्रममा एडीबीका महानिर्देशक केनिची योकोयामाले एडीबीका परियोजना कार्यान्वयन सुधार र समस्यालाई अर्थ मन्त्रालयले सक्रिय रूपमा सम्बोधन गरिरहे पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । एडीबीका परियोजना कार्यान्वयनमा विशेष ध्यान दिए वार्षिक करिब ४५.९७ अर्बदेखि ५९.११ अर्ब प्राप्त गर्न सकिने उहाँको भनाइ थियो ।
अर्थमन्त्री प्रकाशशरण महतले विकासप्रति जनताको चाहनालाई सम्बोधन गर्न पुँजीगत खर्चमा सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले परियोजना कार्यान्वयन र वितरण सम्बन्धी चुनौतीको निरुपण गर्न सरकार तयार रहेको बताउनुभयो ।
कार्यक्रममा राजस्व सचिव रामप्रसाद घिमिरेले परियोजना कार्यान्वयनको प्रभावकारितामा ध्यान दिँदै समावेशीकरण, वातावरणीय तथा सामाजिक सुरक्षा अनुगमनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो ।
अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा सुरु भएको परियोजनाका क्षेत्र तथा कार्यसम्पादन सम्बन्धी छलफलमा नेपाल सरकारका सचिव, वरिष्ठ अधिकारी, आयोजना निर्देशक र एडीबीका नेपाल आवासीय नियोगका कर्मचारीको सहभागिता रहेको छ ।