मेलम्ची खानेपानीबाट २ सय किलोवाट विजुली उत्पादन, राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी

बिजुलीमा खर्च हुने मासिक १५ लाख रुपैयाँ जोगिने

  वास खबर सम्वाददाता  588 पटक हेरिएको


काठमाडौ : मेलम्ची खानेपानी आयोजनाबाट २ सय किलोवाट बिजुली उत्पादन भएको छ । मेलम्चीको सह उत्पादन स्वरुप सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बिजुली निकाल्न सफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।

सुरुङ मार्गबाट ल्याएको पानीलाई प्रशोधन केन्द्रमा पठाउने बिन्दुबाट विजुली निकालिएको हो । यसका लागि मेलम्ची खानेपानी आयोजनाले पानी प्रशोधन केन्द्रको संयन्त्र सँगै इन्लेट एण्ड मिनी हाईड्रो युनिट निर्माण गरेको छ । पानीको बहाव एकनासको भएपछि विद्युत उत्पादन गर्न सफल भएको होे । विद्युत उत्पादन नगरी सीधै प्रशोधन केन्द्रमा मात्र पठाउन सकिने बैकल्पिक संयन्त्र पनि आयोजनाले निर्माण गरेको छ ।

प्रशोधन केन्द्र सञ्चालनका लागि करिब १ सय ५० किलोवाट विद्युत खपत हुँदै आएको छ । बाँकी नेपाल विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नका लागि विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र मेलम्ची खानेपानी विकास समिति बीच चाँडै बैठक बसी टुङ्ग्याईने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण सँग विद्युत खरिद सम्झौता भएपछि उत्पादित विजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिज्नल इन्जिनियर राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रमा मासिक करिब १५ लाख रुपैयाँ बराबरको विद्युत खपत हुँदै आएको छ । आन्तरिक उत्पादनबाटै विद्युत आपूर्ति हुने भएपछि विद्युतमा खर्च हुँदै आएको रकम जोगिने र बाँकी विद्युत विक्रीबाट आम्दानी समेत हुनेछ ।

बर्षातमा पनि मेलम्चीको पानी नरोकिने

मेलम्ची खानेपानी विकास समितिले बर्षातको समयमा समेत मेलम्चीको पानी आपूर्ति नरोक्ने गरी काम गरिरहेको छ । मेलम्चीको पानी पथान्तरण गरिएको स्थान (अम्बाथान) मा स्थायी संरचना निर्माण गर्नुपर्ने भएपनि यस अघि उक्त संरचना नबनाई पानी पठाईएको थियो ।


समितिका कार्यकारी निर्देशक ई.कमलराज श्रेष्ठका अनुसार बाह्रै महिना पानी ल्याउनका लागि अहिलेकै इन्टेक निर्माण गरिएको स्थानमा थप संरचना निर्माण भईरहेको छ । आर्थिक बर्ष २०७९/०८० को बजेट वक्तव्य मार्फत खारेजीको घोषणाले सिथिल बनेको मेलम्ची खानेपानी विकास समितिले गत चैत्र अन्तिममा पुनर्स्थापना भएपछि मात्र सक्रिय रुपमा काम गर्न थालेको हो ।

२०७९ मंसिर देखि मेलम्चीबाट ल्याएको दैनिक १७ करोड लिटर पानी काठमाडौ उपत्यकामा वितरण भईरहेको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले २ लाख ४५ हजार सेवाग्राहीलाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ । काठमाडौ उपत्यकामा दैनिक ४७ करोड लिटर खानेपानीको माग रहेको केयूकेएलले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार